सिनेमा

नेपथ्यका अमृत गुरुङले स्वर दिएको ‘दोख’को ‘वन चरी’ सार्वजनिक

इकागज |
असार ४, २०७९ शनिबार ११:२८ बजे

काठमाडौँ - असार २४ लाई प्रदर्शन मिति तोकेर प्रचार प्रसारमा उत्रिएको फिल्म ‘दोख’ले फिल्मको दोस्रो गीत सार्वजनिक गरेको छ । फिल्मले प्रदर्शन मिति तय गर्नुअगावै झुमा लिम्बूको स्वरमा रहेको गीत सार्वजनिक गरेको थियो । 

शुक्रबार सार्वजनिक गीतमा भने नेपथ्यका ब्यान्डमा भोकलिस्ट अमृत गुरुङको स्वर रहेको छ । ‘वन चरी उड्यो’ बोलको यो गीतलाई श्रवण मुकारुङले रचना गरेका हुन् भने संगीत गरेका हुन् आभाषले ।  गुरुङले चलचित्रका लागि पहिलोपल्ट गीत गाएका हुन् । 


कार्यक्रममा बोल्दै गुरुङले भने, ‘चलचित्रमा गीत गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ ।’ लाइभ रेकर्डिङको प्रचलन करिबकरिब हटिसकेको अवस्थामा ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । ‘सिर्जना गर्न साह्रै गाह्रो छ’ कार्यक्रममा गायक गुरुङले भने, ‘सिर्जनालाई माया गरिदिनुभयो भने अर्को सिर्जना गर्ने हौसला मिल्नेछ ।’ भूकम्प अघि नै सुटिङ भएको फिल्मको पटकथा राजन कठेतले लेखेका हुन् ।

अनुप बरालको निर्देशन रहेको चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, सजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ । 

 


Author

थप समाचार
x