सिनेमा

‘लू’मा कालीका दुई गीत, शीर्ष भूमिकामा विपिनको चर्चा

इकागज |
असार ६, २०७९ सोमबार १२:५ बजे

काठमाडौँ - क्यारो फिल्म्सले निर्माण गर्ने भनिएको नेपाली चलचित्र ‘लू’का गीत कालीप्रसाद बास्कोटाले तयार गर्ने भएका छन् । निर्माण कम्पनी र कालीबीच आइतबार सहकार्यको सम्झौता भएको हो । दुई गीत रहने फिल्मका दुवै गीत कालीले तयार गर्नेछन् ।

फिल्मको सुटिङ भने आउँदो मंसिरबाट सुरु गरिने निर्माण टिमले जनाएको छ । नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ को अधिकार क्यारो फिल्म्सले  केही समय अघि लिएको थियो । क्यारो फिल्म्सका रोजित भट्टराईले  अहिलेसम्म फिल्मका लागि कम्पनीले कालीप्रसाद बास्कोटा र नयनराज पाण्डेसँग मात्र सम्झौता गरेको जनाएको छ । रोजितले आउँदो हप्तासम्ममा निर्देशक फाइनल गर्ने तयारी गरिरहेको पनि जानकारी गराए ।


‘हामीले धेरै जना निर्देशकसँग कुरा गरिरहेका छौँ । सबैजना काम गर्न इन्टरेस्टेड हुनुहुन्छ । तर कोसँग काम गर्ने भन्ने कुरा हामी आउँदा हप्तासम्ममा तय गर्ने सोचाइमा छौँ,’रोजितले भने । उनले कसैलाई काम गर्न इच्छा भए वेबसाइटमा निवेदन दिएर सम्पर्क गर्न सकिने जानकारी गराए । 

फिल्मको शीर्ष भूमिकामा विपिन कार्की रहने चर्चा छ । तर भट्टराईले विपिनसँग पनि सम्झौता भइनसकेको बताए । यसैगरि निर्देशकको रुपमा पनि प्रदीप भट्टराई र दीपेन्द्र के खनालको नाम चर्चामा छ । निशा खरेल निर्माता रहेको फिल्म मंसिरबाट फ्लोरमा लैजाने निर्माण टिमको तयारी छ । फिल्मको पटकथा पुस्तक लेखक स्वयं नयनराज पाण्डेले लेखिरहेका छन् ।


Author

थप समाचार
x