तिहारमा थुप्रिँदै नेपाली फिल्म, चौथो बन्न आयो 'के घर के डेरा'
काठमाडौँ - नेपाली निर्माताहरु व्यापार हैन बदलाको मुडमा छन् । एकपछि गर्दै अर्को फिल्म एउटै मितिमा प्रदर्शन घोषणा गर्न थालेपछि निर्माताहरु व्यापार हैन बदलाको मुडमा देखिएका हुन् ।
कुरा कात्तिक ४ को । तिहारको मुखमा पर्ने यो मितिमा चार नेपाली फिल्म आउने भएका छन् । सबैभन्दा पहिला यो मितिमा आउने घोषणा गरेको 'परस्त्री' भने मैदान छाडेर भागेको छ ।
बुधवार राजधानीमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै दीपेन्द्र के खनाल निर्देशित के घर के डेराले कात्तिक ४लाई प्रदर्शन मिति घोषणा गरेसँगै यो मितिमा आउने फिल्मको संख्या तीन पुगेको छ । पूर्व वाचाबाट कोही नभाग्ने हो भने अब यो मितिमा '२ नम्बरी' 'प्रसाद', 'नालापानी' र 'के घर के डेरा' प्रदर्शन हुनेछन् । छायांकन सकिएसँगै डिजिटल र वितरक राइट्सको लफडामा समेत मुछिएको के घर के डेराको विवाद भने साम्य भएको छैन । एउटासँग सम्झौता गरेर अर्कैलाई अधिकार बेचेपछि यो फिल्म विवादमै छ ।
सोही कार्यक्रममा निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्देशक खनालले निर्माण गरेको सिनेमा ‘परस्त्री’लाई पछाडि सार्दै ‘के घर के डेरा’लाई तिहारमा प्रदर्शन गर्न लागिएको जानकारी दिइयो । घोषणाको समयमा ‘परस्त्री’को प्रदर्शन मिति कात्तिक ६ गतेलाई तोकिएको थियो । अब यो सिनेमालाई फागुन १९ मा सारिएको छ । शर्मिलाले जेठो छोरा दीपेन्द्रको सिनेमाका लागि ‘परस्त्री’को रिलिज डेट सारेको जानकारी दिइन् ।
‘के घर के डेरा’ र ‘परस्त्री’को प्रदर्शन मिति घोषणा कार्यक्रममा शर्मिलाले भनिन्, ‘मैले घोषणाकै समयमा ‘परस्त्री’को रिलिज डेट घोषणा गरेको थिएँ । तर, नेपाली र हिन्दी भाषामा निर्माण भइरहेकाले निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भएपछि जेठो छोरा दीपेन्द्र के खनालको सिनेमाका लागि प्रदर्शन मिति छाडेको हुँ ।’ ‘परस्त्री’लाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् ।
‘के घर के डेरा’मा वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको पनि अभिनय छ । सिनेमामा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, शंकर थापा स्माइलको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । युवराज कार्की कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।
सिनेमाको निर्माण टिमले पत्रकार सम्मेलनमा आफ्नो सिनेमाको नाममा कसैले पैसा उठाएको विषयमा जानकारी नभएको जानकारी दिएको छ । कोरोना महामारी अगाडी सिनेमाको कार्यकारी निर्मातामा सिंगे लामा रहेपनि छायांकन समयसम्म पुग्दा उहाँ टिमको सम्र्पकमा नआएकाले आफ्नो हिसाव काम अघि बढाएको कार्यकारी निर्माता युवराज कार्कीले बताए ।
सिनेमाका निर्माता मध्येका एक शरद श्रेष्ठले सिनेमाको डिजिटल र वितरक राइट्स बेच्ने अधिकारी निर्मातालाई मात्र हुने भएकाले आफूहरु सो विषयमा जानकार नभएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया