सिनेमा

आफैँले बनाएको ब्रान्डमा ‘परदेशी’ भए प्रशान्त तामाङ

इकागज |
असार २७, २०७९ सोमबार ११:२२ बजे

काठमाडौँ -महामारीका कारण प्रदर्शन रोकिएको फिल्म ‘परदेशी २’ ले प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरेको छ । तीन दिनअघि सार्वजनिक टिजरले राम्रो संख्यामा दर्शक पाएको छ र टिजर युट्युब ट्रेन्डिङमा समेत छिरेको छ ।

मेकिङको हिसाबले टिजर ठीकै भए पनि यो फिल्मको ब्रान्ड भ्यालुले भोलिका दिनमा फिल्मले राम्रो व्यापार गर्ने विश्वास गर्न सकिन्छ । तर सार्वजनिक टिजरमा जसले यो ब्रान्ड बनायो, उही कलाकार भने ओझेल परेको आभास हुन्छ ।


नारायण रायमाझी निर्देशित यो फिल्मको पहिलो भाग ‘स्लीपर हिट’ थियो । तीन नेपाली फिल्मसँग रिलिज भएको यो फिल्मले नाकाबन्दीको तनावका बीच पनि लोभलाग्दो व्यापार गरेका थिए । फिल्मको यो व्यापार पछाडिका अनुहार थिए प्रशान्त तामाङ जोसँग निर्देशक रायमाझीले ‘गोर्खा पल्टन’ जस्तो हिट फिल्म दिएका थिए । 
नारायण रायमाझीका लागि मात्र प्रशान्त तामाङ ‘लक्की चार्म’ रहँदै आएका छन् । नत्र भने प्रशान्त तामाङ खेलेको अरु फिल्म आएको गएको पनि चाल हुन्न । तर यिनै ‘लक्की चार्म’लाई यो पटक भने निर्देशक रायमाझीले छायाँमा राखेका छन् । पौने तीन मिनेट लामो टिजरमा प्रशान्तको एउटा भन्दा दृश्य छैन । पूरा टिजर भरि प्रकाश सपूत छाएका छन् । अब यो नारायण रायमाझीको छनौट हो कि प्रकाश सपूतप्रतिको ज्यादा भरोसा ।

तर प्रशान्त तामाङ आफैँले हिट बनाएको नामको सिक्वेलमा ‘एक्स्ट्रा’ जस्तो देखिँदा प्रशान्तका फ्यान पक्कै खुसी छैनन् । यो सत्य हो कि अहिले प्रकाश सपूतको हावा चलेको छ । यसो भन्दैमा निर्माता÷निर्देशकले प्रशान्त तामाङलाई यसरी टिजरबाटै गायब पारेको चाहिँ अलि सुहाएन कि ?


Author

थप समाचार
x