सिनेमा

‘प्रसाद २’ सुटिङ लफडा : कलाकार कि निर्माता उस्ता ?

इकागज |
असार ३१, २०७९ शुक्रबार १३:३ बजे

काठमाडौँ - टेक लिने बेलामा कलाकार सुटिङस्थलमा नआएको र यही कारण सुटिङ रद्द भएर फिल्म युनिट काठमाडौँ फर्किएको कुराले ‘प्रसाद २’ चर्चामा छ । निर्देशक सुदर्शन थापाले कलाकारले दुःख दिएका कारण सुटिङ नसकेको बयान दिएका छन् भने यता कलाकार विपिन कार्कीले निर्माताको कारणले आफूहरू सशंकित भएको बयान दिएका छन् । निर्देशक र कलाकारले आ–आफू अनुकल बयान दिएको भए पनि फिल्म युनिटका एक सदस्यले सुटिङ नै रद्द गर्ने निर्णय भने कलाकारको नभई निर्माताको भएको जानकारी दिएका छन् । 

राजधानीको राम्रै होटलमा तामझामका साथ औपचारिक घोषणा भएको फिल्मको बागलुङको भकुण्डेमा वर्कसप गर्ने र कास्कीको ल्वाङ गाउँमा सुटिङ गर्ने तयारी थियो । तर सुटिङ सुरु नहुँदै कलाकार र निर्देशक र निर्माता–निर्माताबीच पनि असमझदारी बढेपछि निर्मातामध्येका एक केशव पाण्डेले सुटिङ तत्कालका लागि रोक्ने निर्णय गरेको युनिट सम्बद्ध स्रोतले इकागजलाई जानकारी गरायो । 


फिल्म युनिटका एक सदस्यले इकागजलाई दिएको जानकारी अनुसार फिल्ममा खटपटको सुरुवात निर्माता–निर्माताबाट भएको थियो । फिल्ममा सुवास थापा र केशव पाण्डे गरी दुई निर्माता छन् । फिल्म सुवास थापाको कम्पनीमा दर्ता छ भने केशव पाण्डे आन्तरिक कागज गरेर निश्चित रकम हाल्ने गरी निर्माताको रुपमा भित्रिएका थिए । औपचारिक कार्यक्रमदेखि पछिल्लो समयको सबै खर्च उनले बेहोरेका थिए ।

तर सुटिङ सेटमा गएर थप रकम हाल्ने कुरा भएपछि सुवास थापा आफूसँग पैसा नभएको भन्दै टकटकिए । युनिटका सदस्य भन्छन्, ‘यसपछि केशव पाण्डेले यदि आफूले थप पैसा हाल्ने हो भने फिल्म आफ्नो कम्पनीमा दर्ता हुनुपर्ने अनि मात्र सुटिङ अगाडि बढ्ने अडान राख्नु भयो । सुवास थापा केही दिन मान्नु भएन तर अन्तिममा सहमति भएको थियो ।’

सदस्यका अनुसार अहिलेसम्म फिल्मका लागि ५७ लाख खर्च भएको र सुवास थापाले यसमध्ये १ लाख मात्र गोजीबाट हालेका थिए । केशव पाण्डे निर्माताको रुपमा भित्रिनुअघि कलाकार सम्झौतामा खर्च भएको रकम सुवास थापाले ओएसआर डिजिटलबाट लिएका थिए । स्रोतका अनुसार सुवास थापाले यसका लागि ओएसआरबाट ३० लाख रकम लिएका थिए । 

यता सुटिङ सेटमा गएपछि विपिन कार्की र नम्रता श्रेष्ठले पनि निर्देशकसँग स्टोरी बोर्ड र मुड बोर्डको माग गरेपछि पहिलो दिनको सुटिङ रद्द भएको थियो । सेटमा रहेका सदस्यका अनुसार बुधबारको दिन सुटिङ गर्ने गरी कलाकारको मेकअप चलिरहँदा अचानक विपिनले स्टोरी बोर्ड र मुड बोर्ड मागेका थिए । विपिनले योविना सुटिङ नगर्ने बखेडा झिकेपछि बुधबारको सुटिङ रद्द भएको थियो ।

बिहीबार सुटिङ चालू गर्ने सहमति भए पनि फेरि अचानक विपिनले काठमाडौँ जानपर्ने भन्दै अत्तो थापेका थिए । उता नम्रताले पनि रेमनदास श्रेष्ठको बिहेमा जानुपर्ने बताए पछि अन्त्यमा निर्माता केशव पाण्डेले पछि सुटिङ गर्ने गरी सुटिङ रद्द गर्ने निर्णय गरेका थिए । निर्माता नम्रता श्रेष्ठसँग असन्तुष्ट रहेका थिए । नम्रता ‘प्रसाद २’को सुटिङ सेटमा थिइन् तर तयारी गरिरहेकी थिइन् ‘ग्रहण’को ।

एरियल योगा इन्स्ट्रक्टरको भूमिका निर्वाह गरिरहेकी नम्रताले ‘प्रसाद २’को पैसामा इन्स्ट्रक्टर लिएर गएको र उनको पनि खर्च ‘प्रसाद २’का निर्माताले नै बेहोर्नु परिरहेको स्रोत बताउँछ । यसबाहेक नम्रताले अनावश्यक कोठा लिएर पनि निर्माताको आर्थिक भार बढाउने काम गरेको स्रोतको दाबी छ ।  बिहीबार नै निर्देशक कलाकारको टोली फर्किसकेको छ भने प्राविधिकहरू शुक्रबार कास्कीबाट काठमाडौँ फर्कँदैछन् ।


Author

थप समाचार
x