सिनेमा

के दसैँमा ‘परदेशी २’सँगै आउने तयारीमा छ ‘महापुरुष’ ?

इकागज |
साउन २, २०७९ सोमबार १४:४१ बजे

काठमाडौँ - महामारीले नेपाली फिल्मको रिलिज क्यालेन्डर भताभुंग भएपछि निर्मातालाई फिल्म प्रदर्शनको मिति जुराउन हम्मे परिरहेको छ । अझ विदाका समयमा त झनै गाह्रो छ । यही कारण भदौ, असोज र कात्तिकमा नेपाली फिल्मको मेला छ । एकै हप्ता दुई–तीन, दुई–तीन फिल्म रिलिज भएका छन् । कात्तिक ४ मा त घोषणा गरेका फिल्मको संख्या ४ छ । 

तर नेपालमा नेपाली फिल्म चलाउने सबैभन्दा राम्रो समय मानिन्छ, दसैँ । तर यो असोज अहिलेसम्म जम्मा दुई फिल्मले प्रदर्शन हुने घोषणा गरेका छन् । असोज ७ मा आउने घोषणा गरेको ‘प्रेमगीत ३’ र यसको एक हप्तापछि आउने घोषणा गरेको ‘परदेशी २’ । अब यो ‘परदेशी २’ लाग्ने मितिमै हरिवंश आचार्य अभीनित ‘महापुरुष’ आउने चर्चा छ । यो फिल्मको सुटिङ यही हप्ता सकिँदैछ । तर निर्माण टिमले सुटिङसँगै अनलाइन एडिटिङ पनि गरिरहेको छ जसको मतलब निर्माण टिम चाँडोभन्दा चाँडो फिल्म रिलिज गर्ने मनसायमा छ ।


चर्चानुसार पहिला यो फिल्म कात्तिक ४ मा आउने तयारीमा थियो । तर यहाँ ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ जस्ता फिल्मले पहिले नै प्रदर्शन हुने घोषणा गरिसकेका छन् । कात्तिक ४मा ठाउँ नभएपछि यो फिल्म कात्तिक ११ मा आउने कि भन्ने छलफलमा थियो तर तिहारपछि दर्शकको चाप कम हुने र कात्तिक ४ कै फिल्म अर्को हप्तासम्म लम्बिएमा सोजहरू कम हुने आँकलनपछि यो फिल्म असोज १४ मा आउने सोचमा छ ।

यही कारण खिचिरहँदा नै निर्माण टिमले फिल्मको सम्पादन सकाइसकेको छ भने बाँकी समयमा अन्य काम पनि पूरा गर्ने लक्ष्य राखेको छ । भित्रभित्रै दसैँको छेक पारेर रिलिज गर्ने तयारी गरिरहेको भए पनि निर्माण टिमले अहिलेसम्म रिलिजको विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । 


Author

थप समाचार
x