सिनेमा

हिन्दी फिल्म 'मिमी' सम्झाउने 'माइकल अधिकारी' ट्रेलर

इकागज |
साउन ५, २०७९ बिहीबार १०:४१ बजे

काठमाडौँ - सौगात मल्ल र सृष्टि श्रेष्ठ अभीनित सिनेमा ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लम्बाइको ट्रेलरमा कमेडी, लभ, ड्रामा, इमोसन मिश्रित छ ।

श्रीमान्-श्रीमतीको भूमिकामा रहेका सौगात र सृष्टिको घर झगडाबाट सुरु भएको ट्रेलर पीडादायक कथा भन्दै सकिन्छ । रन्जित रौनियार निर्देशित सिनेमाले सहरमा रोजीरोटीका लागि संघर्ष गरिरहेको एक दाम्पतीमा आर्थिक समस्याले उत्पन्न झगडा, पैसाका लागि कोख भाडामा लगाउने महिला आमा बनेपछि बच्चा अरुलाई सुम्पिन तयार नभएपछिको परिस्थितिलाई ट्रेलरमार्फत् प्रस्ट्याउन खोजिएको छ ।


यस्तै कथामा गतवर्ष मात्र बलिउडमा 'मिमी' शीर्षकको फिल्म बनेको थियो । मराठी फिल्मको रिमेक रहेको यो फिल्मले पनि सरोगेसीको कथा प्रस्तुत गर्छ । फिल्ममा कृति सेननले पैसाका लागि कोख बोक्ने चरित्र निर्वाह गरेका छिन् । 'माइकल अधिकारी'मा सृष्टि श्रेष्ठले कोख भाडामा दिने चरित्र निर्वाह गरेकी छिन् ।

सामाजिक सञ्जालमा ट्रेलर सार्वजनिक भएसँगै यसलाई मिमीको नक्कल भन्दै आलोचना भएको छ । फिल्मको क्रेडिट लाइनमा सबैको नाम भए पनि पटकथा लेखकको नाम छैन । यसले पनि फिल्मलाई शंकाको घेरामा राखेको छ ।

उद्दव पौडेलको प्रस्तुतीमा निरक पौडेल निर्माता रहेको सिनेमामा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारको अभिनय छ । गरिबी, अभाव र समस्याको कारण अर्काको भ्रुण गर्भमा हुर्काएर बच्चालाई जन्म दिने सरोगेसीको कथामा सिनेमा निर्माण भएको हो ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । निर्देशक रन्जितको कथा रहेको सिनेमा आगामी भदौ ३ गतेबाट नेपालभरका सिनेमा घरबाट प्रदर्शनमा आउँदैछ ।

 


Author

थप समाचार
x