‘म’ ट्रेलर : अस्पताल र अपराधको वरिपरि घुमेको सस्पेन्स कथा
काठमाडौँ - सुवर्ण थापा निर्देशित फिल्म ‘म’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा फिल्म ट्रेलर सार्वजनिक गरिएको हो ।
साउन २० मा प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर अस्पताल र अपराधको वरिपरि घुमेको छ ।
ट्रेलरले अस्पतालको पृष्ठभूमिमा हुने हत्या र योसँग जोडिएका पात्रको कथामा फिल्म बनेको संकेत गर्छ । फिल्ममा केन्द्रीय भूमिका भने सञ्जोग रसाइलीले निर्वाह गरेका छन् ।
नाम चलेको धेरै कलाकार भएका फिल्मको ट्रेलरले सबै कलाकारको अनुहार देखाउने लोभ राखेको छ । यही कारण विधागत रुपमा फिल्म सस्पेन्स जन्रको भए पनि झन्डै टेलिसिरियल जस्तो देखिएको छ ।
प्रकाश पुरीको लेखन रहेको यो फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का आदि कलाकारको अभिनय रहेको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक सुवर्ण थापाले आफूले यो विधामा रिस्क लिएर फिल्म निर्देशन गरेको बताउँदै राम्रो फिल्म बनाएको बताएका थिए । उता कार्यकारी निर्मातासमेत रहेका प्रकाश पुरीले पनि फिल्मले फरक स्वाद दिने दाबी गरेका थिए । तेन्जिङ पाल्देनको छायांकन रहेको फिल्मलाई विमला हुमागाइँ र पदम पुरी मिलेर निर्माण गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया