सिनेमा

खर्च बढेको तर कमाइ घटेको भन्दै तेलगु फिल्मका निर्माताले रोके सुटिङ

इकागज |
साउन ११, २०७९ बुधबार १२:३० बजे

मुम्बई - तेलगु फिल्मका निर्माताले अगस्ट १ देखि फिल्मको सुटिङ रोक्ने निर्णय गरेका छन् । फिल्म निर्माणको खर्च धान्ने नसक्ने गरी बढेको तर हलबाट आउने सेयर न्यून रहेको भन्दै छलफलका लागि तेलगुको निर्माता संघले तत्कालका लागि सुटिङ रोक्ने निर्णय गरेको हो । उनीहरूले बृहत् रुपमा छलफल गर्ने र उद्योगलाई पुनर्संरचना गर्ने बताएका छन् । 

‘महामारीपछि सुटिङ खर्च बढेको छ तर हल रिलिजबाट हुने आम्दानी घटेको छ । यही कारण निर्माताहरू बसेर समस्याको समाधान निकाल्न जरुरी देखियो,’ तेलगु निर्माता संघद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ फिल्म निर्माणमा सन्तुलन कायम गर्न र फिल्म रिलिजको वातावरण सहज बनाउन निर्माताहरूले स्वतःस्फूर्त रुपमा सुटिङ रोक्न तयार भएका हुन् ।’ 


पहिला नै सुटिङ भएर रिलिजका लागि तयार भएका फिल्म भने यथावत रुपमा प्रदर्शन हुँदैछन् । यसैगरी त्यहाँको निर्माता संघले क्षति कम गर्न हलमा रिलिज भएको १० हप्तापछि मात्र ओटीटीमा फिल्म रिलिज गर्ने प्रस्ताव पनि अघि सारेको छ । 

टिकटदर महंगो भएका कारण महामारीपछि फिल्म हेर्नलाई हल जाने दर्शकको संख्यामा उल्लेख्य गिरावट आएको थियो । संघले सबै वर्गका जनताले फिल्म हेर्न पाउने गरी टिकट दरमा पुनर्विचार गर्ने विषयमा पनि छलफल हुने जनाएको छ । केही समयअघि देखिनै सिंगल थिएटरमा टिकट मूल्य सय र ७५ रुपैँया गर्नुपर्ने विषयमा निर्माताबीच छलफल चलिरहेको थियो । मल्टिप्लेक्समा भने टिकटदर १ सय ५० र १ सय २० गर्नुपर्ने निर्माताको प्रस्ताव छ । 

यही साल तेलगु भाषामा नै बनेको ‘आरआरआर’ ले प्रशस्त कमाइ गरे पनि बाँकी फिल्मले पैसा गुमाएका थिए । महेशबाबु, प्रभास, रामचरण, जुनियर एनटीआर जस्ता स्टारले फिल्म निर्माण महत्वपूर्ण हिस्सा पारिश्रमिकको रुपमा लिएपछि फिल्मले जति धेरै व्यापार गरे पनि निर्मातालाई लगानी उठाउन धौ धौ पर्ने गरेको छ । 
 


Author

थप समाचार
x