‘कबड्डी’ पछि नेपाली हलमा दर्शक खडेरी
काठमाडौँ - ‘कबड्डी ४’को व्यापारले दर्शकलाई नेपाली फिल्ममा फर्काउने अपेक्षा थियो तर त्यसयताका नेपाली हुन् वा विदेशी कुनै पनि फिल्मले गतिलो व्यापार गर्न सकेका छैनन् । फिल्म शुक्रबार रिलिज हुने र फाट्टफुट्ट दर्शकसँग हलबाट उत्रिने शृंखला जारी छ ।
जेठ १३ मा रिलिज भएको ‘कबड्डी ४’ ले काठमाडौँका केही हलमा ५१ दिनसम्म चलेको रेकर्ड राख्दै कमाइमा पनि कीर्तिमान कायम गरेको थियो । तर ‘कबड्डी ४’को यो व्यापारले दर्शक ल्याएको त देखियो तर यसबाट न बजार तरंगित भयो न बाँकी फिल्मकर्मी । कुनै समय ‘लुट’ ‘छक्का पञ्जा’ले भने यसरी नै व्यापार गर्दा नेपाली फिल्म उद्योगमा राम्रै हलचल आएको थियो ।
एउटा राम्रो फिल्म चल्दैमा, अर्को ठीकै वा नराम्रो फिल्मको व्यापारलाई सघाउ पुग्छ भन्ने भन्ने होइन । तर २३ करोड कमाउने गरी ‘कबड्डी ४’ले व्यापार गर्दा यसपछि रिलिज हुने फिल्मले यसको केही फाइदा त हुन्थ्यो होला नै तर हलमा यसपछि रिलिज भएका फिल्मले शुक्रबारदेखि नै दर्शक देख्न मुस्किल पर्यो ।
‘कबड्डी ४’ पछि रिलिज भएको ‘चिसो मान्छे’ले पनि राम्रो व्यापार गर्ने धेरैको अपेक्षा थियो । तर पहिलो दिन औसत दर्शक पाएको फिल्म त्यसपछिका दिनमा भने दर्शकविहीन रह्यो । यो फिल्म असार ३ मा हलमा लागेको थियो ।
‘कबड्डी ४’को क्रेजले केही न केही त फाइदा हुने लोभमा ‘घनचक्कर’ निर्माताले यो फिल्म असार १०मा रिलिज गर्ने निर्णय गरे । तर सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मको व्यापारले निर्मातालाई नै चक्कर लाग्यो । पहिलो दिनदेखि नै दर्शकका् खडेरी खेपेको फिल्म धेरै दिन टिक्दा पनि टिकेन ।
यसपछि रिलिज भएको ‘दोख’ होस् वा ‘सम्झना बिर्सना’ वा ‘सिल्ली फो’ कुनै पनि फिल्मले दर्शक टिकाउन सकेनन् । ‘सम्झना बिर्सना’ निर्माताले भारतमा गएर फिल्मले २ करोड व्यापार गरेको अन्तर्वाता दिए । तर यता भने निर्माता २० लाख लिएर पनि पूजा शर्माले प्रचारमा सहयोग नगरेको भन्दै गुनासो गरिरहेका थिए । यदि फिल्मले २ करोड कमाएको थियो भने निर्माता पूजा शर्मासँग किन गुनासो गरिरहन्थे ?
शुक्रबार रिलिज भएको ‘पानीफोटो’ले पनि उत्साहजनक व्यापार गर्ने संकेत देखाएको छैन । हलमा एक्लै रिलिज भएको फिल्म हेर्न दर्शक पनि एक्लै एक्लै परेको तस्बिरहरु सार्वजनिक भइरहेका छन् भने आइतबारसम्म आइपुग्दा फिल्मको सो पनि उल्लेख्य संख्यामा घटेको छ । त्यसो त दुई दिनअघि रिलिज भएका हिन्दी र दक्षिणभारतीय फिल्ममा पनि दर्शकको खडेरी नै छ । भदौ, असोज र कात्तिकमा ठूलो लगानीका थुप्रै नेपाली फिल्म रिलिज हुँदैछन् । यी फिल्मको व्यापारले निर्मातामा उत्साह थप्ने धेरैको अपेक्षा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया