के तपाईँलाई पनि जेम्स बन्डको कार कुदाउने रहर छ ?
लसएन्जल्स- के तपाईँलाई जेम्स बन्डले जस्तै म्याजिकल कार कुदाउन मन छ ? मन छ भने खल्ती गह्रुँगो बनाइराख्नुस् । किनकि जेम्स बन्डका फिल्म निर्माण गर्ने इओन प्रडक्सनले जेम्स बन्डले कुदाउने कारसँगै थप ६० वटा पुराना सामानको लिलामी गर्ने भएको छ ।
फिल्म निर्माणको इतिहास ६० वर्ष पुगेको अवसरमा कम्पनीले अटोब्लग कारसँगै कस्ट्युम, प्रप्स आदि सामान पनि लिलामीमा राख्ने भएको हो । यसमा ६० वर्षअघि बनेको पहिलो फिल्मका सामानदेखि अघिल्लो साल रिलिज भएको ‘नो टाइम टु डाई’ मा प्रयोग भएका सामानसम्म छन् ।
लिलामीमा रहेका कारमध्ये फिल्मकै लागि भनेर बनेको एस्टन मार्टिन डीबी ५ रिप्लिका स्टन्ट कार पनि रहेको छ जुन सुटिङका क्रममा क्षतिग्रस्त भएको थियो । कम्पनीले त्यसलाई सुटिङ लगत्तै दुरुस्त बनाएर राखेको थियो । योबाहेक लिलामीमा जगुवार,ल्यान्डरोभर, रेन्जरोभर आदि कार पनि रहेका छन् ।
कार र अन्य सामानजस्तै जेम्स बन्ड सिरिजमा कस्ट्युमको पनि आफ्नै खास विशेषता हुन्छ । जेम्स बन्ड अधिकांश दृश्यमा टक्जिडो र सुटमा देखिन्छ भने हिरोइन गाउनमा । लिलामीमा यी दुवै लुगा समावेश छन् । ‘नो टाइम टु डाई’ एना डे आम्र्सले लगाएको गाउनको खुबै चर्चा भएको थियो ।
जेम्स बन्डले लगाएका चश्मा र घडी पनि लिलामीमा रहने कम्पनीले जनाएको छ । लिलामीमा फिल्ममा प्रयोग भएका संगीत र पटकथा पनि सामेल छन् । लिलामीको मुख्य कार्यक्रम सेप्टेम्बर २८ मा हुनेछ भने आफूले लिन चाहेका सामान सेप्टेम्बर १५ देखि अक्टोबर ५सम्म बढाबढ गर्न पाइनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया