सिनेमा

म गसिप पचाउन नसक्ने मान्छे हैन तर जथाभावी लेख्‍न त भएन नी !

इकागज |
साउन १९, २०७९ बिहीबार १०:५० बजे

काठमाडौँ - बेनिशा हमालको पछिल्लो रिलिज ‘घर’ थियो । हरर विधाको फिल्मले औसत व्यापार गरे पनि यो फिल्मले बेनिशालाई खास फाइदा भएन । यो फिल्म रिलिज भएको लगभग ४ वर्षपछि बेनिशा ठूलो पर्दामा फर्किएकी छिन्, ‘प्रेमगञ्ज’ मार्फत् । यो फिल्ममा उनले रानीको भूमिका निर्वाह गरेकी छिन् जसको प्रेमीसँग कठिन मोडमा अन्तरालमा भेट हुन्छ । ट्रेलरमा अटाएका केही दृश्यमा बेनिशाले प्रभावशाली अभिनय गरेकी छिन् । उनलाई यो फिल्मबाट आश छ । 

यता ‘प्रेमगञ्ज’को प्रचार चलिरहँदा बेनिशाले ‘छक्का पञ्जा ४’ मा अभिनय गर्ने मौका पाएकी छिन् । व्यवसायिक सफलता चाख्न चाहानेका लागि हत्ते गर्ने प्रोजेक्ट हो यो । तर यो प्रोजेक्टमा अरु कसैको सिफारिसका कारण मौका पाएको कुराले बेनिशा खुसी छैनन् । सूर्यविनायकमा पूजा आजा गर्दै फिल्मको घोषणा भएसँगै कुनै निर्देशकको सिफारिसमा उनले यो फिल्ममा मौका पाएको खबर आएका थिए ।


बेनिशाले यो खबरको ठाडो खन्डन गर्दै भनिन्, ‘मलाई विशुद्ध रुपमा छक्का पञ्जा टिमबाट अफर आएको हो । कसैले रिफर गरेको कुरामा रत्तिभर पनि सत्यता छैन,’उनले इकागजसँगको कुराकानीमा भनिन्, ‘म गसिप पचाउन नसक्ने मान्छे हैन । तर हुँदै नभएको कुरा त लेखिदिन भएन नी ।’

‘छक्का पञ्जा ४’, ‘प्रेमगञ्ज’बाहेक बेनिशा यतिबेला आफ्नै कामका कारण पनि चर्चामा आएकी छिन् । उनको लेखन तथा निर्देशन रहेको लघु फिल्म ‘मिसिङ ब्राइड’ को पोस्टर सार्वजनिक भएको छ जसले बेनिशालाई कान्छी अभिनेत्री निर्देशकको भिडमा खडा गरेको छ । यसअघि उनका थुप्रै अग्रज अभिनेत्रीले निर्देशकको रुपमा आफ्नो यात्रा सुरु गरिसकेका छन् । 

लगभग एक दशकअघि नै बेनिशाले आफूलाई फिल्म लेखनमा रुचि भएको र फिचर फिल्मका लागि कथा लेखिरहेको बताएकी थिइन् । तर १० वर्षसम्म पनि ती कथाले दृश्यको सहारा पाएनन् । बेनिशा आफूले लेखेको पटकथा आफूले भरोसा गर्ने निर्देशकको हातमा रहेको र चाँडै बन्ने अपेक्षा व्यक्त गरिन् । तर ‘मिसिङ ब्राइड’ उनले अचानक सोचेको र सम्भव भएको प्रोजेक्ट हो । 

बेनिशाका अनुसार अभिनयमा आफू थप तिखार्न उनले मुम्बईमा गएर एउटा फिल्ममेकिङ कोर्स गर्ने निर्णय गरेर सन् २०१८ मा मुम्बई पुगिन् । न्युयोर्क फिल्म एकेडेमीबाट सम्बन्धन प्राप्त यो इन्स्टिच्युटको प्रावधानअनुसार विद्यार्थीले समूहमा रहेर एउटा ग्रयाजुएसन फिल्म बनाउनु पथ्र्यो । बेनिशाको समूहबाट बेनिशाले लेखन र निर्देशनको जिम्मा लिइन् भने बाँकीले अभिनय र अन्य पाटोको ।

तर यसको थप तयारी हुनुअघि नै भारतमा कोभिड १९को लहर सुरु भयो । बेनिशाले सोचिन्, भारतमा अड्किनुभन्दा नेपाल गएर नै बस्नु बेस । उनी नेपाल फर्किइन् । तर यसपछि बेनिशा नेपाल फर्केको फर्कै भइन् । महामारीले दुई वर्ष सर्लक्क खायो । अनि त ग्रयाजुएसन प्रोजेक्टका लागि बनाएको फिल्म बेनिशाले नेपालमा नै सुटिङ गरिन् । यसरी कुनै दिन लेखक बन्छु भनेर लागेकी बेनिशा एकैचोटि ‘मिसिङ ब्राइड’बाट लेखक÷ निर्देशक बनिन् । 

लघु फिल्मको पोस्टर सार्वजनिक भएसँगै बेनिशाले बधाइ र प्रश्न दुवै पाइरहेकी छिन् । बधाइ त लेखक÷निर्देशक बने वापत् भइहाल्यो । प्रश्न चाहिँ ‘फिल्मको मुख्य भूमिकामा आफैँ किन नखेलेको’ भन्ने छ । फिल्मको मुख्य भूमिकामा बेनिशाले वर्षा राउतलाई लिएकी छिन् भने उनलाई पर्दामा साथ दिएका छन् भिजे विवेकसिंह ठकुरीले । 

‘म मल्टिटास्कर होइन नी । एकै समयमा धेरैवटा काम गर्न सक्दिन,’ बेनिशाले स्पष्ट पारिन्,‘ म मेरो सारा ध्यान निर्देशनमा फोकस गर्न चाहान्थेँ । त्यसैले अभिनय गर्ने रहर पालिन ।’ बेनिशाले फिल्मको कास्टको कुरा गर्दा वर्षा राउतको तारिफ गर्न पनि बिर्सिनन् । उनका अनुसार वर्षा राउतले फिल्ममा गज्जब काम गरेकी छिन् ।
अहिले पनि पोस्ट प्रडक्सनको चरणमा रहेको फिल्मलाई बेनिशाले फेस्टिभलमा पठाउने सुझाव पाएकी छिन् । यसका लागि उनले मीन भामको सुझाव लिइरहेकी छिन् । मीनले नै उनलाई फिल्म हेरेपछि फेस्टिभलतिर पठाउन सुझाव दिएका छन् । फिल्म फेस्टिभलतिर छानियो भने आफ्नो निर्देशन यात्रालाई आँट हुने उनको अपेक्षा छ ।

‘फिमेल फिल्ममेकरलाई बाहिरतिरको फेस्टिभलमा अलि प्रमोट गर्छ भन्ने सुनेकी छु । म सुरुमा सर्ट फिल्मबाटै आफूलाई निखार्न चाहान्छु । यसबाट पर्याप्त आत्मविश्वास आर्जन गरेपछि बल्ल फिचर फिल्मको बारेमा सोच्छु,’ बेनिशाले भनिन् । 
 


Author

थप समाचार
x