सिनेमा

धिरजसँग कुरा मिलेन, सुहानाका लागि नयाँ हिरो खोज्दै झरना थापा

इकागज |
भदौ ६, २०७९ सोमबार १३:३ बजे

काठमाडौँ - कृष्णाष्टमीको अवसर पारेर झरना थापाले नयाँ फिल्म ‘भगवत् गीता’को औपचारिक घोषणा गरिन् । टिजरसहित सार्वजनिक फिल्ममा पहिलेझैँ सुहाना थापा मुख्य भूमिकामा रहने टुंगो छ । तर शुक्रबार टिजर सार्वजनिक गर्दा निर्माण टिमले सुहानासँगै हिरो पनि सार्वजनिक गर्ने तयारी थियो तर ताकेको हिरोसँग कुरा नमिलेपछि निर्माण टिमले सुहानाको मात्रै दृश्य राखेर टिजर सार्वजनिक गरेको स्रोतको दाबी छ । 

अलि अगाडि नै यो फिल्मका लागि झरना थापा र सुनिलकुमार थापाले धिरज मगरलाई साइन गर्न लागेको चर्चा थियो । केही अनलाइनमा आएका समाचारअनुसार फिल्मका लागि धिरजसँगै दयाहाङ राई पनि अनुबन्ध भएको खबर आएका थिए । पछि निर्देशक झरना थापाले ती समाचारको खण्डन गरेकी थिइन् ।


अहिले भने निर्माण टिम र धिरजबीच पारिश्रमिकको कुरालाई लिएर सहकार्यको सम्भावना टरेको गाइँगुइँ छ । स्रोतका अनुसार धिरजले फिल्मका लागि महंगो रकम मागगरेपछि निर्माण टिम धिरज लिने मनस्थितिबाट पछि हटेको छ । धिरजलाई कुस्त रकम तिर्नुभन्दा नयाँ हिरो लिएर पब्लिसिटी गर्ने भन्दै निर्माण टिम नयाँ हिरोको खोजीमा लागेको स्रोत बताउँछ ।

‘ए मेरो हजुर २’बाट फिल्म निर्देशनको सुरुवात गरेकी झरना थापाले यही नामका तीन सिरिज निर्देशन गरिसकेकी छिन् । यो सिरिज छाडेर झरनाले नयाँ नाममा फिल्म निर्देशन गर्न लागेकी हुन् । यो फिल्म नयाँ वर्षको पहिलो दिन सार्वजनिक गर्ने उनको तयारी छ । 


Author

थप समाचार
x