‘महापुरूष’ले चिनायो फिल्मको नयाँ हिरो
काठमाडौँ - हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । नयाँ पोस्टर सार्वजानिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको हो । सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउँदै गरेको देख्न सकिन्छ । उनको पछाडि हरिवंश रहेका छन् । उनीहरु बाइकमा गुड्दै गर्दा स्पीड ब्रेकरमा बाइक पुगेपछिको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ । उनले फिल्ममा विज्ञानको भूमिका निर्वाह गरेका छन् ।
अरुण फिल्ममा अडिसनमार्फत सेलेक्ट भएका हुन् । ’मैले फिल्ममा काम गर्ने सोच बनाएपछि नै केही मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ । त्यसमध्ये एक रविन्द्र दाइ र प्रदीप दाइसहितको टिम थियो । उहाँहरूसँग जोडिन पाउँदा निकै उत्साहित छु’ अरुणले भने । फिल्मका निर्मातासँगै कलाकार समेत रहेका रविन्द्र सिंह बानियाँले थियटर आर्टिस्ट सुदाम सिकेले अरुणलाई आफूसम्म ल्याइपुर्याएको जानकारी गराए । फिल्मसम्बन्धी अध्यन गरेर नै अभिनयमा आएका अरुणले अभिनय गरेको पहिलो फिल्म ’आइएम ट्वान्टी वान’ हो । फिल्म आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।
सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल ,अरुण क्षेत्री, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ । फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया