‘झिंगेदाउ’ : सनातन समाजको कथा नयाँ शैलीमा
काठमाडौँ - प्रदर्शोन्मुख फिल्म ‘झिंगे दाउ’को ट्रेलर हेर्दा यसले प्राचीन नेपाली समाजको झल्को दिन्छ । कलाकारले लगाउने लुगादेखि पर्दामा देखिने सामानसम्मले पनि फिल्मले पुरानो समाज सम्झना गराउँछन् । योसँगै ट्रेलरले फिल्म देउरानी–जेठानीको झगडामा केन्द्रित रहेको पनि संकेत गर्छ । भर्खरै भोगेको कथा हेर्न पनि दर्शक नआइरहेको समयमा आफूले देख्दै र भोग्दै नभोगेको परिवेशले दर्शकलाई हलसम्म कसरी डोर्याएर ल्याउला ? यो फिल्मका कलाकार दर्शकको जिम्मा लिन नसके पनि फिल्मले पुरानो समाजको कथा भने मानवीय स्वभाव शास्वत रहेकाले यो फिल्म हेर्न आउने विश्वासमा छन् ।
‘यो कथाको परिवेश अलि पुरानो छ तर यो कथाका चरित्रको मानवीय स्वभाव र अहिलेका मानिसको स्वभाव उस्तै छ,’ केकी अधिकारी भन्छिन्, ‘घटनासँगै झिंगे दाउको कथा मानवीय स्वभाव पनि हो । हामी स्पेसमा पुगे पनि हाम्रो इमोसन त के फेरिएको छ र । यो फिल्मले पनि हाम्रा यस्तै मानवीय स्वभावले निम्त्याउने परिस्थितिको निर्माण गर्छ ।’
यो फिल्ममा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानी बनेका छन् । आँचलले केकी अधिकारीसँग काम गर्दा धेरै कुरा सिकेको बताउँदै उनले यो फिल्मबाट कलाकारको रुपमा आफूलाई थप फाइदा हुने बताउँछिन् ।
‘मैले अहिलेसम्म हिरोको गर्लफ्रेन्डको भूमिका मात्र निर्वाह गरेकी थिएँ । तर यसमा त्यो अवतार मात्र त्यागेकी छैन्, अभिनयमा पनि नयाँ कुरा गर्ने कोशिस गरेको छु । त्यसैले यसलाई मैले नयाँ आँचलको जन्मको रुपमा पनि अथ्र्थाउँदै आएकी छु,’ उनको भनाइ थियो ।
फिल्मले देउरानी–जेठानीले झिंगे दाउ खेल्ने क्रममा उत्पन्न हुने परिस्थितिका कथा बयान गर्छ । पुरानो समयमा सिक्का राखेर यो दाउ खेलिन्थ्यो र जुन सिक्कामा आएर झिंगा बस्छ त्यो खेल्नेको हुने प्रचलन थियो ।
कलाकार मुकुन भुसालले फिल्मले २० को दशकको नेपालसँगै सामाजिक सम्बन्धलाई फिल्मले मनोरञ्जनक हिसाबले वाचन गरेको बताउँछन् । ‘पुरानो समयमा फर्कन रमाइलो हुन्छ । पहिलो त यो फिल्मले हामीलाई सुकामाना घिउको समयमा पुर्याउँछ । दोस्रो यो कथा भन्नलाई निर्देशकले रोचक शैली निर्माण गर्नु भएको छ,’मुकुन भन्छन्, ‘ कथा र कथा भन्ने शैलीले यो फिल्म रोचक बनेको छ र दर्शकलाई पनि मनपर्छ भन्नेमा हामी विश्वस्त छौँ ।’
यो फिल्मले आमा र दुई दाजुभाइको कथा पनि पेश गर्छ । फिल्ममा कुशल बिष्ट भाइ बनेका छन् । उनले सिरियलमा निर्वाह गरिरहेको भूमिका र फिल्मका लागि गर्नुपर्ने भूमिका उस्तै रहेकाले खासै गाह्रो नभएको बताए ।‘मैले केही सिरियमा भाइ बनेर अभिनय गरेको थिएँ । खाली विवाहित मात्र थिइँन । पुरानो अनुभवले यो भूमिका निर्वाह गर्न गाह्रो भएन । फिल्म पनि एकदमै राम्रो बनेको छ,’ कुशलले भने । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा हिउँवाला गौतम, संगम भण्डारी, आयान खड्का र अभय बरालको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्म यही १७ गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया