चलचित्र विकास बोर्ड भन्छ– कुनै पनि चलचित्र रोक्ने निर्णय भएको छैन
काठमाडौँ - चलचित्र विकास बोर्डले आफूहरूले कुनै पनि चलचित्र रोक्ने निर्णय नगरेको स्पष्टिकरण दिएको छ । बिहीबार चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै बोर्डले कुनै फिल्मको प्रदर्शन रोक्न लागेको अफवाहलाई लिएर फिल्म क्षेत्रकै केही व्यक्तिले टिप्पणी गरिरहेको र सञ्चारमाध्यममा पनि समाचार आएको भन्दै आपत्ति जनाएको हो ।
‘चलचित्र प्रदर्शनको विषयलाई लिएर केही दिनदेखि चलचित्र विकास बोर्डलाई लक्षित गरी चलचित्र क्षेत्रका केही व्यक्तित्वहरू तथा विभिन्न सञ्चारमाध्यममा आएका समाचार तथा सामाजिक सञ्जालहरूमा आएका विभिन्न टीकाटिप्पणीप्रति यस बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । चलचित्र विकास बोर्डले कुनै पनि चलचित्रको प्रदर्शनमा रोक लगाउने विषयमा कुनै निर्णय नगरेको व्यहोरा यसै विज्ञप्तिमार्फत सबैलाई जानकारी गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
बोर्डले आधिकारिक धारणा नआएका विषयमा कपोलकल्पित टिप्पणी नगर्न र समाचार नलेख्न पनि सबैमा आग्रह गरेको छ ।
केही दिनदेखि सामाजिक सञ्जालमा प्रदीप खड्काको स्टारडम रोक्न चलचित्र विकास बोर्डले उनी अभीनित ‘प्रेमगीत ३’को हिन्दी डब संस्करण रोक्ने निर्णय गरेको अफवाह आएका थिए । यो अफवाहमाथि सरोज खनाललगायतका अभिनेताले टिप्पणी गरेका थिए ।
उनले ‘प्रेमगीत ३’ले नेपाली फिल्मको बजार विस्तार गरिरहेको समयमा बोर्डले यो फिल्मको हिन्दी संस्करण रोक्ने निर्णय गरेको कुरा आफूले सुनेको र त्यसो गर्नु दुःखद रहेको बताएका थिए । यसअघि अभिनेता प्रदीप खड्काले पनि ‘प्रकाश’लाई हलवालाले सो बाँडफाँटमा अन्याय गर्दा बोर्ड मौन दर्शक बनेको भन्दै आलोचना गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया