सिनेमा

‘झिंगेदाउ’मा झिंगाले मात्र खायो ६ लाख

इकागज |
भदौ १७, २०७९ शुक्रबार १२:२३ बजे

काठमाडौँ - आजभन्दा दुई नेपाली फिल्मले प्रदर्शन यात्रा थालेका छन् । सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ र ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ ।  लन्डनमा खिचिएको ‘सम्हालिन्छ कहिले मन’ले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्छ भने ‘झिंगेदाउ’ले २०को दशकको नेपाली समाजलाई हास्य शैलीमा प्रस्तुत गर्छ । प्रिमियरमा ‘झिंगेदाउ’ले सेलिब्रेटी दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । आजभन्दा ५० वर्ष पुरानो समाजमा घट्ने गरेका घटनालाई फिल्मले मनोरञ्जक शैलीमा प्रस्तुत गरेको छ । 

‘रक्षक’ फिल्मबाट फिचर फिल्म निर्देशनमा डेब्यू गरेका ज्ञानेन्द्र देउजाको नाममा महाकवि देवकोटाको कालजयी कृति ‘मुनामदन’माथि फिल्म बनाएको क्रेडिट पनि छ । निर्माणको संघारमा थुप्रै दुःख खेपेर हलमा लागेको ‘मुनामदन’ले ज्ञानेन्द्र देउजालाई साहित्यिक कृतिमाथि न्याय गर्न सक्ने निर्देशकको रुपमा स्थापित गरेको थियो । ‘झिंगेदाउ’मार्फत् निर्देशक ज्ञानेन्द्र देउजा यो परिचय स्थायी हुने अपेक्षामा छन् । 


राष्ट्र बैैंकका निवृत्त कर्मचारी ज्ञानेन्द्र देउजा ‘झिंगेदाउ’को कथा आजभन्दा २५ वर्षअघि नेपाल टेलिभिजनमा सिरियल बनाउने गरी तयार गरेका थिए । पटकथा तयार भएर सुटिङको पर्खाइमा पनि थियो तर विविध कारणले नबनेपछि देउजाले २५ वर्षअघिदेखि मनमा रहेको यो कथा ब्युँताएका हुन् ।ज्ञानेन्द्रका अनुसार २०४५सालतिर नेपाल टेलिभिजनले चर्चित साहित्यिक कृतिमाथि ‘आख्यान’शीर्षकमा टेलिसिरियल बनाउँथ्यो । उनले भिमनिधी तिवारीको यो कथा यही आख्यानका लागि तयार गरेका थिए । तर बीचैमा फिचर फिल्म निर्देशन गर्ने अवसर आइपरेपछि उनले यो कथा यत्तिकै छाडे । तर बीचमा दर्शकमा मौलिक फिल्मको रुचि बढ्दै गएको देखेपछि उनले झट्ट यो कथा सम्झे र यसलाई पर्दामा रुपान्तरणका लागि सक्रिय भए ।

‘म पहिलादेखि नै साहित्यिक कृति पढ्थेँ । सिरियल बनाउने उद्देश्यले यो कथा पनि छानेको थिएँ तर नेपाल टेलिभिजनमा जुनिएर भएकाले पालै पाइँन । तर बीचमा कबड्डी जस्ता फिल्म दर्शकले रुचाएको देखेपछि यो कथा पनि दर्शकका लागि रोचक हुनसक्छ भन्ने लागेर यो फिल्म बन्यो,’ज्ञानेन्द्रले सुनाए ।२००८ सालमा प्रकाशित ‘सामाजिक कहानी अन्तरे’ भित्र समावेश यो कथाले मनोरञ्जनका लागि खेलिने झिंगेदाउ खेलले कसरी एउटा सुखी घर तहस नहस हुन्छ भन्ने कता पेश गरेको छ । निर्देशक ज्ञानेन्द्र देउजा आफूलाई त्यो समयको गाउँ र परिवेश निर्माण गर्न चुनौती रहेको बताउँछन् ।

‘पहिलो कुरा त २० को दशकको जस्ता घर पाउन समस्या पर्यो । मैले १०÷१५ लाख खर्चेर त्यो घर र घरभित्र हुने सामान तयार पारेँ । कति कुरा भीएफएक्स गरेर पनि मिलाइयो तर उहिलेको कुरा दुरुस्त बनाउन त कठिनै छ ,’ ज्ञानेन्द्रले सुनाए ।अरु कुराभन्दा पनि कथामा टर्निङ प्वाइन्ट ल्याउने झिंगा बनाउन भने सोचन्दा बढी खर्च भएको देउजा बताउँछन् ।

‘यो कथामा टर्निङ प्वाइन्ट ल्याउने नै झिंगा हुन् तर आफूले सोचेजस्तो झिंगा बनाउन उनलाई सकस पर्यो । भीएफएक्स गरेर बनाएको झिंगा चित्त नपरेर बारम्बार बनाउँदा झिंगामा मात्र मेरो ६ लाख खर्च भयो,’ उनले सुनाए ।तर फिल्मको प्रारम्भिक प्रतिक्रियाले ज्ञानेन्द्र देउजा हर्षित छन् । प्रिमियरमा सेलिब्रेटी हाँसेको देखेर दर्शक पनि हाँस्नेमा देउजा ढुक्क छन् । भन्छन्, ‘मौलिक स्वादको फिल्म बनेको प्रतिक्रिया पाएको छु । सन्देशसँगै मनोरञ्जन पनि छ । हलमा जाने दर्शक सायद चुकचुकाउनु पर्दैन ।’प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल बिष्ट र हिउँवाला गौतमको मुख्य भूमिका रहेको छ । 


Author

थप समाचार
x