सिनेमा

नेपाली सिनेमा क्षेत्र पनि संसारका सिनेमा इण्डस्ट्रीसँग प्रतिष्पर्धा गर्न सक्छ : अध्यक्ष केसी

इकागज |
भदौ १८, २०७९ शनिबार १७:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा भएको नेपाल चलचित्र निर्माता संघको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कलाकार र प्रविधिकहरूमा दक्षताको कुनै कमी नरहेको दाबी गर्दै नेपाली सिनेमा क्षेत्र पनि संसारका सिने उद्योगसँग प्रतिष्पर्धा गर्न योग्य बनाउन पहल गर्ने जिकिर गरे ।


केसीले चलचित्र विकास बोर्डले नेपालमै निर्मित नेपाली भाषाका चलचित्रलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे । उनले चलचित्र क्षेत्रको विकास हुन नसक्नुको कारण पहिचान गरी एक/दुई दिनभित्र नै मन्त्रालयलाई जानकारी गराउने प्रतिबद्धता जनाए । 

उनले भने, ‘चलचित्र क्षेत्रमा दुःख मात्रै छैनन् । सम्भावनाको ढोकाहरु धेरै छन् । सम्भावनाका ढोकाहरु कनि खुलिरहेका छैनन्, बन्द भएका सम्भावनाका ढोका हामी खोल्नसक्छौँ । नेपाली सिनेमा क्षेत्रपनि संसारका सिनेमा इण्डस्ट्रीसँग प्रतिष्पर्धा गर्नसक्छ । नेपाली कलाकार र नेपाली प्राविधिकहरूमा ट्यालेन्टको कुनै कमी छैन । नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । म आएको एक महिना भएको छ । चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो ? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ ।’

अध्यक्ष केसीले चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठूलो आयश्रोत चलचित्र उद्योग बन्ने दाबी गरे । उनले चलचित्र उद्योग आज प्राथमिकतामा नपरे पनि प्राथमिकतामा पार्न लायक बनाउन आफ्नो पहल रहने बताए । उनले चलचित्र क्षेत्रलाई विकास गर्न कसैले कसैको खुट्टा तान्ने नभइ एकजुट हुन जरुरी रहेको पनि उल्लेख गरे । 


Author

थप समाचार
x