सिनेमा

कुलमानलाई हरिवंशले भनेः राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना

इकागज |
भदौ १८, २०७९ शनिबार १८:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले विद्युत् व्यापार गरिरहेको र उनको काम प्रशंसायोग्य रहेको बताएका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको जिकिर गरे । उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौँबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, भन्दै शुभकामना व्यक्त गरे ।


उनले भने, ‘कुलमान सरलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ । त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर । राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभकामना ।’

वरिष्ठ कलाकार आचार्यले दशौं लाख युवाहरूलाई हामीले विदेशमा निर्यात गरेर आएको रेमिटेन्सबाट देशको अर्थतन्त्र अघि बढाउने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताए । 


Author

थप समाचार
x