सिनेमा

फिल्ममा मात्रै होइन् हलमा पनि कञ्‍चनको 'डेब्यू'

इकागज |
भदौ १९, २०७९ आइतबार १२:३६ बजे

काठमाडौँ-  संखुवासभामा हुँदा हलमा फिल्म हेर्ने मौका नपाएकी कञ्चन चिमरिया अबको हप्ता आफैँ हलमा हुनेछिन् । कुनै दिन टिभीमा हिरो हिरोइन नाचेको देखेर दंग पर्ने कञ्चन आफैँ त्यो पर्दामा देखिनेछिन् । तर दर्शकबाट कलाकार बन्ने उनको यात्रा धेरै फिल्मको कथा जस्तै फिल्मी छ । 

२०७४ सालको भदौमा ‘ऐना झ्यालको पुतली’ निर्माण टिम कलाकार खोज्दै संखुवासभा पुगेको थियो । फिल्मका लागि चाहिँदो कलाकार खोज्ने मनसायले निर्माण टिम स्कुल स्कुल घुमेर कलाकार ‘रेकी’ गरिरहेको थियो । एउटा शनिबार भने निर्माण टिमले एउटा स्कुलमा अडिसन राखेको थियो । उसबेला कञ्चन कक्षा ९ मा पढ्थिन् । तर जुन दिन निर्माण टिमले अडिसन राखेको थियो त्यही दिन कञ्चनलाई समाजसेवाका लागि संखुवासभामै भएको मनकामना भन्ने ठाउँ पनि जानु थियो । यहाँ पुगेर फर्किँदा समय बितिसकेकाले उनले अडिसन लगभग माया मारिसकेकी थिइन् ।


‘ मनकामनामा एउटा वृद्धाश्रम थियो र हामीले त्यहाँ खाना खुवाउने कार्यक्रम थियो । यो सबै सकेर फर्किँदा अडिसनको समय सकिइसक्यो जस्तो लागेको थियो । तर घर छेउको बहिनीले बाँकी छ कि जाउँन त भनेर भनेपछि त्यो बहिनी र म गएका थियौँ,’ फिल्मको प्रचारका लागि अहिले काठमाडौँ आइपुगेकी कञ्चनले ५ वर्ष अघिको घटना सम्झँदै भनिन् । 

नभन्दै कञ्चन पुग्दा अडिसन लगभग सकिएको थियो । तर कास्टिङ निर्देशक केदार श्रेष्ठ र आकाश मगर गइसकेका थिएनन् । आफूहरू अडिसनका लागि आएको बताएपछि उनीहरूले कञ्चनलाई गीत गाउन लगाए । कञ्चनले मेलिना राईको ‘तिमी बाटो फेर्यौ अरे’ भन्ने गीत सुनाइन् । दुवैले ‘ल पछि खबर गर्छौँ’भन्दै बिदा दिए । उनले आफू फिल्मका लागि छानिन्छु भन्ने एकरत्ति पनि ठानेकी थिइन् । तर निर्माण टिमले उनलाई विद्याको चरित्रका लागि उनलाई छान्यो ।

कक्षामा ९ मा पढ्दा नै यो फिल्मको सुटिङ सकिएको थियो । तर महामारीले तीन वर्ष खाएपछि यो फिल्म रिलिज हुन थप समय लाग्यो । कञ्चनले यो बीचमा एसईई, प्लस टु सकेर मेडिकल क्षेत्रमा करिअर बनाउने सोचका साथ तयारी कक्षा लिइरहेकी छिन् । संखुवासभाबाट झापामा आएर उनले एउटा बोर्डिङ स्कुलमा सोसल र हेल्थ पढाउने गरेकी छिन् । तर फिल्म रिलिज हुने चर्चापछि भने कञ्चनलाई कक्षा सम्हाल्न हम्मे हम्मे परिरहेको छ । किनकि अलिकति पनि मौका पायो कि विद्यार्थीहरू ‘ऐना झ्यालको पुतली’को कुरा झिकिहाल्छन् । 

‘मिस तपाईँको फिल्म कहिले आउँछ ? हिरो को छ ? भनेर प्रश्न सोधिरहन्छन्,’कञ्चनले भनिन् ‘फिल्म रिलिज नभएसम्म राम्ररी पढाउनै पाएकी छैनन् ।’
फिल्मभित्र विद्या बनेकी कञ्चनले माध्यमिक शिक्षा पूरा गर्न चाहाने युवतीको भूमिका निर्वाह गरेकी छिन् । कञ्चन आफैँले यो स्थिति भोग्नु परेको छैन तर उनले आफ्नो घरगाउँमा पढ्ने चाहाना हुँदाहुँदै स्कुल छाड्न बाध्य भएका धेरै संगी देखेकी छिन् । 

‘यो फिल्म हाम्रो इतिहास मात्र होइन विगत पनि हो । अहिले पनि छोरीको हकमा परिवारका लागि पढाइभन्दा विवाह महत्वपूर्ण भन्ने मान्यता छ । यो फिल्मले त्यस्तो मान्यतामाथि प्रश्न गर्छ,’कञ्चन भन्छिन्, ‘त्यही भएर पनि यो फिल्म हरेक परिवारले हेर्नुपर्छ भन्ने लाग्छ मलाई ।’

सुरुमा परिवार उनले फिल्म खेल्ने कुराको विरोधमा थियो । पढाइ बिग्रन्छ भन्ने चिन्ताका कारण परिवार उनले फिल्म नखेलीदिएहुन्थ्यो भन्ने सोचमा थियो । तर कुनै दिन गायिका बन्ने सपना देख्ने कञ्चनले फिल्म खेले पनि पढाइ नबिग्रने कुरामा विश्वस्त तुल्याइन् । यो फिल्मपछि भने कञ्चन पढाइलाई नै निरन्तरता दिने सोचमा छिन् । कञ्चन भन्छिन्, ‘मैले यसपछि फिल्म खेल्ने बारे केही सोचेको छैन । पहिला त म पढाइ नै सक्न चाहान्छु ।’
 


Author

थप समाचार
x