निर्देशक सुदर्शन थापाले दिए पत्रकारलाई कानको जाली फुटाइदिने धम्की
काठमाडौँ - निर्देशक सुदर्शन थापाले समाचार लेखेकै भरमा चलचित्र पत्रकारको कानको जाली फुटाइदिने धम्कि दिएका छन् । उनले आफू निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ले हलमा राम्रो व्यापार नगरेको आसयसहित समाचार लेखेका सुजन श्रेष्ठको कानको जाली फुटाइदिने धम्कि दिएका हुन् । इकागजलाई प्राप्त अडियोमा उनले सुजनलाई फिल्म चलेको बेलामा समाचार नलेखेको तर सो सकिएपछि गलत मनसायले समाचार लेखेको भन्दै कुटपिट गर्ने धम्कि दिएका हुन् ।
सुजनले ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ भन्ने शीर्षकमा समाचार लेखेका थिए । यो समाचारपछि सोमबार साँझ ४ बजेतिर सुदर्शन थापाले आफूलाई फोन गरेर धम्क्याएको सुजनको आरोप छ । ‘सुरुमा उहाँले राम्रैसँग कुरा गर्नु भएको थियो तर पछि गाली गलौज गर्न थालेपछि मैले प्रमाणका लागि अडियो रेकर्ड गरेको हुँ । समाचार लेखेकै भरमा गाली गलौज गर्नु जायज नलागेपछि सार्वजनिक गरेको हुँ,’ सुजनले इकागजसँग भने ।
उनले निर्देशक थापाले आफूलाई गाली गलौज गरेको विषयमा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला र पत्रकार महासंघ प्रदेश कार्य समितिका अध्यक्ष बैकुण्ठ पराजुलीलाई मौखिक रुपमा जानकारी गराइसकेको र सल्लाह गरेर कानुनी प्रक्रियामा जाने कि नजाने सम्बन्धमा निर्णय गर्ने बताए । ‘म छलफलकै क्रममा छु । उहाँहरूसँग सल्लाह गरेर कानुनी प्रक्रियामा जाने कि नजाने भन्ने विषयमा निक्र्योलमा पुग्छु’ उनले भने । सुजनले नौलो न्युज डटकममा यो समाचार लेखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया