सिनेमा

विकास बोर्डको रिस नेपाली फिल्ममाथि खन्याउँदै वितरक तथा हलवाला

इकागज |
भदौ २३, २०७९ बिहीबार १३:२५ बजे

काठमाडौँ - बलिउड फिल्म ‘ब्रम्हास्त्र’ सेन्सर नभएपछि हलवालाले यसको बदला नेपाली फिल्मको सो टाइम ननिकालेर लिइरहेको बुझिएको छ । सेन्सर नगरी बुकिङ खोल्न दिएको आग्रह विकास बोर्डले नटेरेपछि वितरक तथा हलवालाले नेपाली फिल्मको पनि सो टाइम सार्वजनिक नगरेका हुन् । 

विकास बोर्ड अधिकृत गिरिश शर्माका अनुसार ‘ब्रम्हास्त्र’का वितरकले सेन्सर सिफारिसका लागि सम्पूर्ण कागजात नबुझाउँदै बुकिङ खोल्नका लागि अनुमति माग गरेका थिए । तर विकास बोर्डले कागजात पूरा नभई सिफारिस गर्न नमिल्ने बताएपछि फिल्मको बुधबार सेन्सर हुन सकेन । बुधबार यसरी फिल्म सेन्सर नभएपछि वितरक र हलवाला मिलेर नेपाली फिल्मको पनि सो सार्वजनिक गरेका छैनन् । 


नेपाली होस् वा विदेशी ,सबै फिल्मको सेन्सरको अधिकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग रहेको छ । चलचित्र विकास बोर्डले प्रक्रियामा आवश्यक रहेका कागजात पूरा भएको देखेपछि बल्ल सेन्सर सिफारिस दिन्छ । बोर्डबाट पाएको सिफारिस लिएर बल्ल वितरक वा निर्माता सञ्चार मन्त्रालयमा सेन्सरको प्रक्रियामा जान्छन् । 

गिरिशका अनुसार ब्रम्हास्त्रका वितरकले पूरा कागजात पेश नगरेपछि सेन्सर सिफारिस रोकिएको हो । बोर्डमा अहिले अपुग कागजात आएको र अध्ययन गरेर सेन्सर सिफारिस दिने वा निर्णय गर्न सकिने उनले बताएका छन् ।

हिजाको दिनमा वितरक तथा हलले सेन्सर नगरी आफूखुसी मुभी कोड जेनरेट गरेर बुकिङ खोल्ने गरेका थिए । तर ‘केजीएफ २’ले विकास बोर्ड वा जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिई मध्यरातमा फिल्म देखाएपछि हलले गर्ने गरेको अटेरी सार्वजनिक भएको थियो । मिडियामा यो विषय उठेपछि उससमयका विकास बोर्ड अध्यक्ष दयाराम दाहालले हलमाथि कारबाहीको सिफारिस गरेका थिए । तर अहिलेसम्म ती हललाई न राजस्व कार्यालयले कारबाही गरेको समाचार आएको छ न जिल्ला प्रशासन कार्यालयले ।

बोर्डले पनि त्यस्ता हलउपर कुनै कारबाही अगाडि बढाएको छैन । यही समयदेखि बोर्डले सेन्सरपछि मुभी कोड जेनेरेट गरेर दिएपछि मात्र बुकिङ खोल्नुपर्ने नियम लगाएको छ । यसरी सेन्सर भएर मुभी कोड नहुँदा ‘ब्रम्हास्त्र’को बुकिङ नखुलेको हो र हलवालाले बोर्डलाई चेताउन नेपाली फिल्मको पनि सो समय सार्वजनिक नगरेका हुन् । 

सो टाइम सार्वजनिक नभएपछि ‘ऐना झ्यालको पुतली’का निर्माता भने न्याय माग्दै विकास बोर्ड पुगेका छन् । विकास बोर्डले निवेदन दिन भनेको र आफूहरु विकास बोर्डसँगै चलचित्र निर्माता संघमा पनि उजुरी दिने तयारीमा रहेको निर्मााता आकाश पौडेलले बताएका छन् । 

‘ब्रम्हास्त्र’ आज सेन्सर हुने सम्भावना कम छ । किनकि सेन्सर बोर्ड सदस्य सन्तोषकुमार थापाका अनुसार आज साँझमा सेन्सरका अरु दुई फिल्म तयार छन् र भोलि सार्वजनिक विदा छ । सार्वजनिक विदाका दिन सेन्सरको काम गर्न पाइने नियम छैन । यसो हुँदा ‘ब्रम्हास्त्र’को सेन्सर आइतबार मात्र हुनेछ । 
यसैबीच अर्का वितरकले भारतका हलमा लागेर उत्रन लागेको फिल्म ‘सीतारमण’ रिलिज गर्ने तयारी गरेको छ । बिहीबार साँझ यही फिल्मको सेन्सर हुँदैछ । 


Author

थप समाचार
x