‘डिसेम्बर फल्स’ को बाँकी सुटिङ सुरु
काठमाडौं- सुटिङ गर्दा गर्दै बीचैमा रोकिएको चलचित्र ‘डिसेम्बर फल्स’ कोे बाँकी छायांकन सुरु भएको छ । पहिलो लकडाउन खुलेपछि छायांकन थालिएको चलचित्र निर्माण कार्य दोश्रो पटकको निषेधाज्ञाका कारण प्रभावित भएको थियो । अब भने सुटिङ सक्ने तयारीका साथ फिल्म फ्लोरमा निस्किएको छ ।
आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको निर्देशक प्रविण झा हुन भने महेश आर गुप्ताले खिचिरहेका छन् । निर्देशक प्रविण र छायाँकार महेश भारतीय चलचित्र उद्योगमा कार्यरत छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । राजकुमार भट्ट निर्माता रहेको चलचित्रमा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन् ।
बिपीका खनालको कथा, केदार भुसालको पटकथा र सम्वाद रहेको चलचित्रको अधिकांश दृश्य पोखरा आसपासमा खिचिएको छ । छायांकन सुरु हुनासाथ युट्युब र अष्ट्रेलिया राइट एजुकेशन एन्ड माइग्रेसन कर्नरले किनिसकेको चलचित्रको हल वितरण भने श्रीराम बलाजी फिल्मस्का सुनिल मानन्धरले गर्ने छन् ।
चलचित्रको पूरा छायांकन सकिन अब झण्डै दुई साता लाग्ने जानकारी कार्यकारी निर्माता रिजालले दिएका छन् । पहिला साउन १ गते प्रदर्शन गर्ने भनिएको भए तापनि अब भने यो चलचित्र आगामी डिसेम्बर महिनामा दर्शकमाझ आउने छ ।
कार्यकारी निर्माता रिजालले आफुहरु डिसेम्बर महिनाभित्र चलचित्र प्रदर्शन गर्ने लक्ष्यका साथ कार्यरत रहेको बताए । ‘डिसेम्बरको कुनै पनि शुक्रबार रिलिज हुन्छ,’ उनले भने, ‘अहिले हामी यही योजनाका साथ काम गरिरहेका छौ ।’ प्रेमकथाका साथमा चलचित्रमा वास्तविक घटनालाई उठान गरिएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया