‘ऐना झ्यालको पुतली’ हेरेका सभामुख अग्नि सापकोटा भन्छन्, ‘यो फिल्म सारा नेपालीले हेर्नुपर्छ’
काठमाडौँ - सभामुख अग्नि सापकोटाले ‘ऐना झ्यालको पुतली’ हेर्दै फिल्म अत्यन्त राम्रो बनेको र यो फिल्म गाउँ सहर, शिक्षक अभिभावक सबैले हेर्नुपर्ने बताएका छन् । शुक्रबार सुन्धारास्थित सिने दि सेफमा परिवारसहित फिल्म हेरेका सापकोटाले १ घन्टा ३६ मिनेटको फिल्म पत्तै नपाई सकिएको बताएका थिए ।
‘ फिल्म सकिएको पत्तै भएन । म १५ वर्ष पढाएको शिक्षक हुँ । गाउँको मान्छे पनि हुँ । योसँगै फिल्मले समाजको चित्रण पनि दुरुस्त गरेको रहेछ । यो फिल्म मौलिक पनि छ र सन्देश पनि बहुआयामिक रहेछ । एकदमै मिलेको फिल्म छ,’ सापकोटाले फिल्मपछि प्रतिक्रिया दिँदै भने ।
उनले ५ वर्षअघि ‘कान्छी’ हेरेको स्मरण गर्दै फिल्म आफ्नो जीवनसँग दुरुस्त मेल नखाए पनि गाउँका धेरै दृष्टान्त मिल्ने भएकाले आफैँले भोगेको कथा हेरेजस्ता महसुस भएको पनि प्रतिक्रिया दिएका थिए ।
‘मेरो घरमा बहिनी थिएनन् । दिदी थिए तर उनीहरूले पढ्न पाउँदैनथे । हामीले मात्र पढ्न पायौँ त्यसैले ठ्याक्कै मेरै जीवनसँग त मेल खाएन तर यो हामीले गाउँमा जताततै देखेको दुनियाँ हो । खासगरी मलाई दिदी भाइको प्रेम र संघर्षको कुरा असाध्यै राम्रो लाग्यो,’ उनको भनाइ थियो ।
सभामुख सापकोटाले कथा र शिल्प दुवैको हिसाबले ‘ऐना झ्यालको पुतली’ राम्रो सिनेमा बनेको बताउँदै यो फिल्म बच्चा र अभिभावक सबैले हेर्नुपर्ने फिल्म बनेको प्रतिक्रिया दिएका थिए । भदौ २४ मा सार्वजनिक भएको सुजित बिडारी निर्देशित फिल्मले दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले पहिलो हप्ताभन्दा दोस्रो हप्तामा सो र दर्शक दुवै बढी पाइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया