सिनेमा

निर्माता संघ भन्छ - संघ विदेशी भाषाको सिनेमालाई स्वदेशी सरह दिइने सेवा–सुविधाको विपक्षमा छ

इकागज |
असोज २, २०७९ आइतबार १५:३ बजे

काठमाडौँ -  निर्माताहरुको पेशागत संस्था निर्माता संघले आफूहरू विदेशी भाषाका सिनेमालाई स्वदेशी सरह सेवा सुविधा दिने पक्षमा नरहेको बताएका छन् । संघले आइतबार विज्ञप्ति जारी गर्दै विदेशी भाषामा डब भएका नेपाली फिल्मलाई पनि नेपाली सरह नै सुविधा दिने हो भने यसले विकृतिको सुरुवात गर्ने र नेपाली फिल्म उद्योगलाई असर गर्ने भन्दै आफूहरू यसको विरोधमा रहेको जनाएको छ ।

निर्माता संघका महासचिव सुनिलकुमार थापा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ , ‘ नेपाल चलचित्र निर्माता संघ नेपालमा प्रदर्शन गरिने कुनै पनि भाषाका चलचित्रप्रति नकारात्मक नरहेको आम दर्शकहरुमा स्पष्ट पार्न चाहन्छ । हाम्रो ध्यान भनेको सदैब नेपाली सिनेमाको वृहत्तर हितको लागि मात्र रहिआएको छ र हामीले स्वदेशी सिनेमाको अस्तित्व रक्षार्थ विगतदेखि नै विदेशी सिनेमाको अतिक्रमणका विरूद्धमा लड्दै आइरहेका छौं  र हाम्रो लडाइँ विशुद्ध विदेशी सिनेमाको अतिक्रमण विरूद्ध हो । सिनेमा भनेको व्यापारको साधन मात्र हैन यो भाषा, कला, साहित्य र संस्कृतिको द्योतक पनि हो । त्यसैले राज्यले प्रदान गर्ने सेवा, सुविधा र सहुलियत केबल नेपाली भाषाका सिनेमाहरुलाई हुनु पर्दछ भन्ने हाम्रो मान्यता रहँदै आएको छ ।'


अभिनेता प्रदीप खड्काले शनिबार निर्माता संघले आफूहरूलाई देशद्रोही करार गरेको भन्दै निर्माता संघ अर्को बनाउने चेतावनी दिएका थिए । संघका अध्यक्ष नवल खड्काले  चलचित्र विकास बोर्डसँगको छलफलमा नेपाली फिल्मलाई हिन्दीमा डब गरेर नेपाली सरह सुविधा खोज्ने काम उद्योगको हितमा नरहेको र यस्तो कदम देशद्रोही हुने धारणा राखेका थिए । ‘प्रेमगीत ३’का निर्माता तथा अभिनेताले यही कुरालाई बढाइचढाइ गरी आफूलाई देशद्रोही भनिएको भन्दै अभिव्यक्ति दिँदै आएका छन् । 

यति हुँदा हुँदै पनि संघले ‘प्रेमगीत ३’लाई कर तथा राजस्व छुटमा सहुलियत प्रदान गर्ने निर्माण पक्षको मागदाबी सम्बन्धमा चलचित्र क्षेत्रको एकमात्र नियमनकारी निकाय चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण, वितरण र प्रदर्शन ऐन तथा नियमावली मुताबिक विधी र विधान अनुरूप गरिनु पर्दछ भन्ने यस संस्थाको धारणा रहेको बताएको छ । 
 


Author

थप समाचार
x