सिनेमा

महजोडीसँग ‘महापुरुष’ खेलेका अरुण र अञ्जना भन्छन्–उहाँहरूको आशीर्वाद लिएर अभिनय गर्नु सौभाग्य हो

इकागज |
कात्तिक ४, २०७९ शुक्रबार १३:५७ बजे

काठमाडौँ-  भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरूष’ बाट डेब्यु गर्दैछन् अरुण क्षेत्री र अञ्जना बराइली । बाल्यकालदेखि नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठूलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेका छन् । ‘मलाई डर नलागेको होइन । तर मैले त्यसलाई आत्मविश्वासमा बदलेँ । उहाँहरूको आशीर्वाद लिएर डेब्यू गर्न पाउँदाको खुसी व्यक्त गर्ने शब्दनै मसँग छैन’, अरुणले भने । उनी फिल्ममा अडिसन मार्फत छनौट भएका हुन् । 

जापानबाट अभिनयमा आफ्नो भविष्य देखेर नेपाल फर्किएका अरुणले निर्देशक प्रदीप भट्टराईसँग काम गर्ने योजना बनाएका थिए । तर उनको भेट हुन सकेको थिएन । उनले निर्देशक भट्टराईसँगै रबिन्द्र सिंह बानियाँलाई सम्पर्क गर्न प्रयास गरे । ‘त्यो समयमा उहाँहरूको जात्रै जात्रा रिलिज हुँदै थियो । त्यसैले पनि भेट भएन । अहिले उहाँको फिल्मबाट डेब्यू गर्ने अवसर पाएँ’,अरुणले भने । 


मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना पनि अडिसनमार्फत छानिएकी हुन् । उनी फिल्ममा प्रतिष्ठाको भूमिकामा छिन् । ‘मैले केही फिल्ममा अडिसन पनि दिएकी थिएँ । एउटा फिल्ममा सेलेक्ट भएर प्रतीक्षा गरें । तर त्यो फिल्म बनेन् । यहाँ अडिसन दिएँ’, उनले भनिन् । मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उनको सिकाइ पनि भएको छ । ‘म यहाँको लागि नौलो मान्छे । मलाइ रबिन्द्र दाइ र प्रदीप दाइले राम्रोसँग गाइड गर्नु भयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो’, उनले भनिन् ।

अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका बानियाँले बताए ।‘हामीलाई चाहिएको कलाकार उहाँ दुईमा पायौँ । अडिसनमा दिइएको उहाँको प्रस्तुतिले प्रभाव छाड्यो । धेरैको अडिसन लिएता पनि भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ’, बानियाँले भने । आफूहरूले दया वा मायाले भन्दा पनि कलाकारिता हेरेर दुई नयाँ अनुहारलाई डेब्यू गराउने निर्णय लिएको बताए । ‘दिग्गज कलाकारहरुसँग स्क्रिनमा देखिएको कन्फिडेन्टले अन्जना र अरुणको भविष्य उज्वल छ, भन्ने लागेको छ’, उनले भने ।

कास्टिङ डिरेक्टरको रुपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणलाई षटकोण आर्ट्ससम्म पुर्याएका थिए ।‘हामीले क्यारेक्टर चाहियो भनेपछि सुदामले अरुणको बारेमा जानकारी दिए । अडिसन भयो । उनले भूमिकालाई जीवन्त बनाएपछि हामीले सेलेक्ट गरेका हौँ’, बानियाँले भने । अरुण र अञ्जनालाई वर्कशपमा केही समस्या भयो । फिल्मको लागि नयाँ उनीहरूले क्यारेक्टरलाई बाँच्न समय लिए । तर फिल्ममा नयाँ कतै नदेखिने निर्देशक भट्टराई बताउँछन् । 

‘हामीले नयाँ प्रतिभालाई स्थान दिनुपर्छ भनेर अडिसनमार्फत खोजेका हौँ । नयाँपुस्ताको कथा नयाँ मार्फत नै भन्न खोजेका छौँ’, निर्देशक भट्टराईले भने । फिल्ममा काम गर्दा धेरै सिक्न पाएको अरुणले बताए । ‘पहिलो दृश्य देखि अन्तिमसम्म उहाँहरूबाट सिकेको सिकाइलाई आउँदो दिनमा प्रयोग गर्ने छु । मह जोडीले किन सम्मान पाउनु हुन्छ भन्ने काम गरेपछि झनै थाहा भयो । उहाँले आफू मात्र नभई हामीलाई समेत सिकाउँदै राम्रो कलाकार बनाउनु भयो’, अरुणले भने । 

अञ्जना पनि अरुण झैँ महसँग अभिनयलाई बुझ्न पाएको बताउछिन् । ‘क्यारेक्टर बाच्न उहाँहरू मार्फत सिके । सरलता, सामीप्यता, सहयोगी भावले हामी जस्ता नयाँ कलाकारलाई धेरै हौसला र उर्जा थप्छ’, उनले भनिन् । छायांकन अवधिभर अविभावकको कमी महसुस नभएको समेत उनले बताइन । 

सामाजिक विषयवस्तुमा आधारित ड्रामामा गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ । फिल्ममा प्रदीप भट्टराईको लेखनसँगै निर्देशन रहेको छ । 


Author

थप समाचार
x