सिनेमा

बोर्डलाई ‘दुई नम्बरी’को जवाफ :  बोर्डको स्पष्टिकरण अभिव्यक्ति स्वतन्त्रता विरोधी

इकागज |
कात्तिक ६, २०७९ आइतबार १६:२९ बजे

काठमाडौँ-  ‘दुई नम्बरी’ निर्माता किरण नेपालीले फिल्मका केही दृश्य काँटछाँट गरेको कुरामा चलचित्र विकास बोर्डले सोधेको स्पष्टिकरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाफ रहेको बताएका छन् । उनले सेन्सर गरेको कपीमा थप जोडजाड नगरेको बताउँदै ध्वनि र कलरमा देखिएका प्राविधिक त्रुटीलाई सच्चाएर मात्र हलमा पठाइएको बताएका हुन् ।

उनले विज्ञप्ति जारी गर्दै सेन्सर कपीमा नसमेटिएका दृश्य वा संवाद नयाँ संस्करणमा नथपिएको र  थपिएको पाइएमा कानुन बमोजिम कारबाही भोग्न तयार रहेको जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘ चलचित्रको लम्बाइ हेरफेर गरिएको कतै उल्लेख छैन । हामीले चलचित्रका ध्वनि र कलरमा देखिएका केही प्राविधिक त्रुटिलाई संशोधन गरेर तेस्रो हप्तादेखि हलमा पठाएका हौं । त्यसैलाई अडियो र भिडियो दुवै पक्षमा परिमार्जन गरिएको भनिएको हो । हामीले सेन्सर कपीमा नसमेटिएका दृश्य वा संवाद नयाँ संस्करणमा थपेका छैनौं । थपिएको पाइएमा कानुन बमोजिम कार्वाही भोग्न तयार छौं ।’ उनले अगाडि थपेका छन् ,‘ चलचित्रलाई नानाथरीका स्पष्टीकरण सोध्ने यो बोर्डको कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको समेत ध्यानाकर्षण गराउन चाहन्छौं । कला र सिर्जनामाथि अंकुस लगाइरहने हो भने गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य रहँदैन । धन्यवाद ।’



चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’ के कति कारण सेन्सर गरिएको फिल्मलाई बोर्डलाई जानकारी नगराई फिल्म पुनः सम्पादन गरेर हलमा पठाएको भन्दै स्पष्टिकरण सोधेको थियो । बोर्डले सोधेको स्पष्टिकरणमा दुई नम्बर निर्माण टिमले आइतबार यस्तो जवाफ पठाएको हो । 
 


Author

थप समाचार
x