सिनेमा

‘महापुरुष’ : एक्लोपनको कथामा हँस्यौली ठट्यौली

सामीप्यराज तिमल्सेना |
कात्तिक १४, २०७९ सोमबार १७:० बजे

विषयवस्तुको गहिराईमा नपुग्ने नेपाली फिल्मको ताजा समस्या हो । विषयवस्तु त उठाउने तर प्रस्तुतिमा लतरखाजी गर्ने । चोटिलो विषयलाई यसैगरी हल्काफुल्का रुपमा लिई तयारी गरिएको फिल्म हो ‘महापुरुष’ । ‘महापुरुष’को विषय किन चोटिलो हो भने यसले एकल पुरुषको मानसिक समस्याको कुरा उठाउँछ तर यसलाई बीचैमा अलपत्र छाडेर यसको अन्तिम समाधान विपरित लिङ्गीसँग मात्र हुन्छ भनेर सामान्यीकरण गर्छ । फिल्मबाट डाक्टरी समाधान किन अपेक्षा गर्ने ? बहसको विषय हुनसक्ला तर मानसिक समस्याबाट गुज्रिरहेका मानिसलाई यो फिल्म हेरिरहँदा जिस्काएको लाग्ने सम्भावना प्रशस्त छ । 

‘महापुरुष’ कथा हो बालकृष्ण क्षेत्री (हरिवंश आचार्य) र उनका दुई छोरा विदुर (रवीन्द्रसिंह बानियाँ) र विज्ञान(अरुण क्षेत्री) को । बालकृष्ण विधुर हुन् जो उज्यालोमा बस्न डराउँछन् तर दुई छोराको उज्यालोको लागि जे गर्न पनि तयार छन् । आदर्शनगरमा बस्ने उनलाई समाजले पनि आदर्श मानेको छ र दुई छोरा बालकृष्णको यही आदर्श बेचेर आफ्नो भविष्य सुधार्ने ध्याउन्नमा छन् । तर दुवैको सपनामा त्यतिबेला आँच आउँछ जब समाजमा महापुरुष मानिएका बालकृष्णको जीवनमा गौरी मल्लको प्रवेश हुन्छ । गौरीको प्रवेशपछि हरिवंशको घुर्मैला लुगा रंगिन हुँदै जान्छन् । थोत्रो बाइक ग्यारेजबाट निस्कन्छ अनि अँध्यारो रहने कोठा झलमल्ल हुन्छ । हरिवंशको यो फेरिएको दैनिकीले फिल्ममा यस्तो समस्या उत्पन्न हुन्छ जहाँ दुई छोराले ‘बाउको बिहे’ हेर्नुपर्ने दिन आउँछ । आफैँ बिहे गरेर अष्ट्रेलिया जान लागेको कान्छो छोरो ‘बाउको बिहे’ हेर्न तयार हुन्छ कि हुन्न ? बाबुलाई भगवान बनाएर भविष्य उज्जल बनाउन लागेको जेठो छोरो बाबु आदर्शच्यूत भएको हेर्न तयार हुन्छ कि हुन्न ?  साढे २ घन्टा लामो ‘महापुरुष’ यस्तै प्रश्नसँगै बिट मार्छ । 


कमेडी शैलीका फिल्म बनाउँदै आएका प्रदीप भट्टराईले ‘महापुरुष’मा कमेडीमा सामाजिक मुद्दा पनि घुसाउने चेष्टा गरेका छन् । सर्जकका हिसाबले उनको यो रुपान्तरण चेष्टा प्रशंसनीय छ । यसमा पनि उनले समाजमा उत्तिकै समस्यामा परेका तर समाजको नजरमा समस्या नै नमानिएका एकल पुरुषको एक्लोपनलाई विषय बनाएका छन् । यो फिल्मको उल्लेखनीय पाटो हो । तर पटकथामा भने उनको यो पुनित उद्देश्य खुलेर आएको छैन । उनले एकल पुरुषको एक्लोपन देखाउन बासी विम्बको प्रयोग गरेका छन् । जस्तो कि सुँगासँग कुरा गर्ने, अँध्यारोमा बस्ने, निरस रङका लुगा लगाउने । यसले फिल्मको सेटअप कमजोर बनाएको छ । उनको एक्लोपनले कटक्क खाँदैन । यसले फिल्मलाई छिपछिपे बनाएर छाडेको छ । 

लेखकसमेत रहेका निर्देशक प्रदीप भट्टराईको ‘महापुरुष’को दुनियाँमा छिपछिपे लाग्ने यस्ता धेरै सन्दर्भ छन् । पहिलो त हरिवंश आचार्यलाई महापुरुष ठान्ने सोच नै छ । उनलाई छोरा वा समाजले किन महापुरुष मान्छ ? फिल्मको दुनियाँमा लेखक-निर्देशकले कतै पनि यो कुरालाई स्थापित गरेका छैनन् । आदर्शनगरको नाम र हरिवंशको नाम सुन्ने बित्तिकै मदनकृष्णको चरित्रले ‘महापुरुषका महापुरुष’ लाउनुबाहेक त्यो आदर्शनगर के कारणले आदर्श छ र हरिवंश त्यो आदर्शका शिखर कसरी हुन् ? जवाफ पाइँदैन । यसले फिल्मको दुनियाँ विश्सनीय बनेको छैन ।

यसका बावजुद छोराहरूले बाबुको इमेज बेचेर आफ्नो दुनो सोझ्याउन गरेको प्रयत्न भने जिवन्त छ । यसले छोराहरूको चरित्र मानवीय बनाएको छ । मानवीय अर्थात् कमजोरीसहितको । दुवै छोरा आफ्ना स्वार्थप्रेरित छन् र उनीहरूको यही स्वार्थले फिल्ममा द्वन्द्वको सिर्जना गरेको छ र यसैले फिल्मलाई रोचक पनि बनाएको छ । तर लेखकसमेत रहेका प्रदीप भट्टराईले कथा अगाडि बढाउन सिर्जना गरेको द्वन्द्वमा आशंका गर्ने ठाउँ छ । किनकि पहिले पनि र अहिले पनि एकल महिलाको विवाहमा समाजलाई आपत्ति हो । पुरुषको विवाहमा हैन । एकल पुरुषले हिजो पनि समाजको स्वीकृतिमा विवाह गर्दै आइरहेका छन् र आज पनि गरिरहेका छन् । तर एकल महिलाका लागि आज पनि विवाह गर्नु सजिलो निर्णय हैन, न समाजका लागि न एकल महिला स्वयंका लागि । यसले निर्देशक भट्टराईको सामाजिक चेतमाथि प्रश्न गर्ने ठाउँ छाडेको छ । छोराछोरीले आपत्ति जनाउने कुरा भने स्वाभाविक हो जुन यो फिल्ममा पनि छ । 

बलिउड फिल्मका ‘किरोहरू’का लागि भने यो कथा पनि नयाँ हैन । प्रदीप भट्टराईले सिर्जेको यो कथा ऋषि कपुर र डिम्पल कपाडिया अभीनित ‘प्यार मे ट्वीस्ट’सँग धेरथोर मिल्दछ । एकल पुरुष र महिलाको कथा दर्शकले ‘मेरे बाप पहिले आप’मा पनि हेरिसकेका छन् । तर मूलकथामा समानता भेटिए पनि ‘महापुरुष’को ट्रिटमेन्ट बिल्कुलै फरक छ । यसैगरी कथाको अन्त्य अनुमान गर्न सकिने खालको भए पनि प्रदीप भट्टराईको कमेडी टचले फिल्म हेरुन्जेल बाँधेर राख्छ । पहिलो हाफमा अरुण क्षेत्रीको र ब्याकग्राउन्ड म्युजिकको लाउडनेसले घरिघरि दिक्क बनाउँछ तर दोस्रो हाफमा पटकथा लिक छाडेर हिँड्नेबाहेक फिल्म इन्गेजिङ छ ।

इन्टरभल ब्लक पछि आदर्शनगरमा वृद्ध र युवाहरू बीचका संवाद फिल्मका प्राण हुन् । पटकथाले भन्न छुटाएका कतिपय कुरा निर्देशकले यो दृश्यमा बडो सानदार ढंगले बताएका छन् । यसलाई फिल्मकै शक्तिशाली दृश्यमध्ये एक मान्दा हुन्छ । 

यसमा कलाकारको अभिनय र निर्देशक भट्टराईका धारिला संवादको ठूलो योगदान छ । पर्दामा पात्रहरू सकसमा पर्दा पनि लेखक भट्राईले यस्ता मीठा संवाद बोलाएका छन् जसले इमोस्नल दृश्यमा पनि  दिल खोलेर हाँसिन्छ ।  लेखकको रुपमा प्रदीप भट्राईको यो शिल्प लोभलाग्दो छ । संवाद र कमेडी दृश्यमा निर्देशक पूरा लयमा छन् तर बेला बेला बरालिने पटकथाले उनको यो शिल्पलाई ओझेल पारेको छ । जस्तो कि फिल्मको इन्टरभल ब्लक एकदमै सशक्त छ । यो दृश्यमा हरिवंशले ताली खान्छन् तर पछि उस्तै अवस्था आउँछ जहाँ उनी एकाएक लाचार हुन्छन् र गौरी मल्लको चरित्रलाई मध्यरातमा झमझम पानी परिरहेको अवस्थामा छोराहरूले घरबाट बाहिर निकाल्दा पनि चुँ गर्दैनन् । गौरी मल्लको यो दृश्य उनैले पढिरहेको हेनरिक इब्सनको नाटक ‘डल्स हाउस’को सादृश्य छ । सो नाटकमा पनि नाटककी मुख्य पात्र नोरा उसैगरी मध्यरातमा श्रीमान्को घरबाट निस्किएको कथा छ । लेखकको रुपमा निर्देशक भट्टराईले गौरी मल्लको पात्र स्थापनामा पनि समय नखर्चिएको महसुस हुन्छ । पहिलो त कथामा पुरै उथुलपुथल ल्याउने चरित्रको पृष्ठभूमि ‘मिस’ हुन्छ अनि फिल्ममा उनका क्रियाकलापमा पनि एकरुपता महसुस हुन्न । घरि उनी १६ वर्षे लाग्छिन् घरि ६० वर्षे । एउटा चरित्र यस्तो हुन नसक्ने त होइन तर लेखनले यो कुरालाई स्थापित गरेको छैन । 

हरिवंश र उनको सम्बन्धको ग्राफले जुन गतिमा समस्या सिर्जना गरेको छ त्यो गति पर्दामा देखिन्न । यो समस्या अरुण र अञ्जनाको सम्बन्ध विस्तारमा पनि छ । तर इन्टरभल ब्लक पछि आदर्शनगरमा वृद्ध र युवाहरू बीचका संवाद फिल्मका प्राण हुन् । पटकथाले भन्न छुटाएका कतिपय कुरा निर्देशकले यो दृश्यमा बडो सानदार ढंगले बताएका छन् । यसलाई फिल्मकै शक्तिशाली दृश्यमध्ये एक मान्दा हुन्छ । 

यसैमा मलाई रोचक लागेको कुरा फिल्ममा चरित्रको नाम पनि हो । दसैँमा आशीर्वाद दिँदा पुरुषलाई विदुर जस्तै (वि)ज्ञानी हुनु भनेर भन्ने गरिएको छ । यही आशीर्वादबाट अरुण र रवीन्द्रको नाम राखिएको छ । तर बिझाएको कुरा फिल्ममा नारायणको जस्तै कीर्तिको कुरा गर्ने लेखकले हरिवंशको नाम बालकृष्ण नराखेर नारायण राखेको भए झन् कति सुहाउँथ्यो ? उता प्रतिष्ठाकै लागि मरिहत्ते गरिरहने मदनकृष्ण श्रेष्ठले छोरीको नामै  प्रतिष्ठा राखेको मीठो देखिएको छ ।

लेखकको रुपमा भट्टराईले यो फिल्ममा अर्को एउटा प्रशंसनीय काम गरेका छन्,  त्यो हो चरित्रको ‘स्टेक’ । बुबाको विवाहको विरोधमा रहेका दुवै छोरा यत्तिकै विरोधमा छैनन् किनकि यो विवाहले दुवैको भविष्यमा रातो बत्ति बालिरहेको छ । कान्छो छोराको रिस्क के हो भने विवाह गरेर डिपेन्डेन्टमा जान लागेको उसका हुनेवाला ससुराले कथंकदाचित सम्धि आदर्शच्युत भएको थाहा पाए भने बिहे गर्न दिँदैनन् र उसको अष्ट्रेलिया जाने सपना चकनाचुर हुन्छ । उता जेठो छोरो पनि ‘भगवान जस्ता मेरा बा’ किताब लेखेर संकटापन्न स्कुलमा साझेदार भित्र्याउन खोजिरहेको छ जुन कुरा बाहिरियो भने साझेदार भड्किने सम्भावना छ । चरित्रमा थपिएको यो स्टेकले चरित्र र पटकथा दुवै रोचक बनेका छन् । यसमा हल्का बढी लाग्छ त रक्सी पसलेको किचकिच । 

यो फिल्ममा कलाकारको अभिनय ठिक्क मात्र छ । हरिवंश आचार्य चरित्रमा जम्न संघर्ष गरिरहेको महसुस हुन्छ भने अरुण क्षेत्री पहिलो भागमा कर्कस लाग्छन् । हास्य कलाकारले हँसाउने जमर्को गरेन भन्दैमा त्यसलाई उत्कृष्ट मानिहाल्नुपर्छ भन्ने छैन । यो कुरा बाँकी हास्य कलाकारमा पनि लागू हुन्छ । अरुणले दोस्रो हाफमा भने सन्तुलित अभिनय गरेका छन् ।

थोरै दृश्यमा देखिने सिरु बिष्ट नबोलुन्जेल स्वाभाविक लाग्छिन् तर उनको मुखबाट फिल्मको पुरै सन्देश बोलाइएको छ जसले गर्दा यो पात्र अन्त्यमा आएर भने खल्लो लाग्छ । किनकि उनलाई यिनै संवाद बोलाउन जस्तो मात्र फिल्ममा राखिएको छ ।  यही फिल्मबाट डेब्यू गरेकी अन्जना बराइलीको पनि अभिनय ठीकै मात्र छ । रोमान्टिक दृश्यमा उनको असहजता स्पष्ट देखिन्छ । फिल्मको सुरुदेखि अन्त्यसम्म कुनै कलाकार लयमा छन् भने ती रवीन्द्रसिंह बानियाँ हुन् । उनको चरित्र जसरी सुस्पुष्टताका साथ लेखिएको छ उनले अभिनयमार्फत त्यसलाई प्रभावशाली हिसाबले अभिव्यक्त गरेका छन् । फिल्मको अन्त्यमा टोपी उल्टो पार्दै एक्जिट भएको दृश्यले उनको चरित्र हलबाट निस्किए पनि मनमा बसिरहन्छ ।    

पटकथा, ब्याकग्राउन्ड म्युजिक र सम्पादन खुकुलो हुँदाहुँदै पनि यो फिल्मले एकल पुरुष र महिलाको मुद्दालाई सतहमा ल्याएको छ जसका लागि यो फिल्म धापको हकदार छ । यसले हसाउँदा हसाउँदै आत्मकेन्द्रित समाज र सन्तानलाई प्रश्न गर्छ जो आफ्नो खुसीका लागि अरु खुसी हुन पाउने अधिकारलाई खारेज गर्छन् । 
‘जात्रा’ र ‘जात्रै जात्रा’मार्फत प्रदीप भट्राईले जुन उचाइ हासिल गरेका छन् त्यो उचाइमा राखेर हेर्दा ‘महापुरुष’ कमजोर लाग्छ तर महत्वपूर्ण सामाजिक मुद्दासहित हलमा आएको ‘महापुरुष’ इन्गेजिङ छ । नेपाली फिल्मका मधौरु (दर्शक) जसरी दबाइ खान रुचाउँछन् त्यसरी नै दबाई खुवाउन सक्ने नेपाली फिल्मलाई चाहिने वैद्य (निर्देशक) हुन् उनी ।  यो फिल्मबाट फेरि एक पटक प्रदीप भट्टराईले प्रमाणित गरेका छन् हास्यरसयुक्त चोटिला संवाद लेखनमा उनको जोडा छैन । मात्र उनले कथा र कथ्यमा चनाखो भए पुग्छ ।  

लेखक-निर्देशक : प्रदीप भट्टराई
निर्माता : रवीन्द्रसिंह बानियाँ, म्याक्स दीपेश खत्री
छायांकन : दीपक बज्राचार्य 
सम्पादन : मित्र गुरुङ
कलाकार : मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली आदि ।
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x