सिनेमा

रिलिजपछि फेरि मोफसलमा दर्शक भेट्दै ‘महापुरूष’

इकागज |
कात्तिक १७, २०७९ बिहीबार ९:४५ बजे

काठमाडौँ - गत कात्तिक ११ गतेबाट प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । प्रदर्शनकै दिनदेखि हल पुगेर निर्माण टिमले प्रतिक्रिया समेत लिइरहेका छन् । हलसम्म आइपुगेका दर्शक फिल्म हेरिसकेपछि निर्माण टिमलाई बधाई दिँदै निस्किरहेका छन् । काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएको टिम मोफसलमा निस्किएको छ । कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराइली पश्चिमका सहर पुगेर प्रतिक्रिया लिने भएका छन् । 

टिमले बुधबार नेपालगन्जमा दर्शकसँग साक्षात्कार गरेको थियो ।  बिहीबार टिम दाङ, बुटवल हुँदै चितवनसम्म पुग्नेछ । निर्देशक भट्टराईले मोफसलका दर्शकबाट पनि फिल्मलाई राम्रो प्रतिक्रिया पाएको बताए । ‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिएँ । हल भिजिटमा पाएको प्रतिक्रियाले त्यो डर हटेको छ । यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति हो’, निर्देशक भट्टराईले भने । फिल्म हेर्न प्राय परिवारनै आइरहनु भएको छ ,’भट्टराईको भनाइ छ । 


फिल्मले बालकदेखि वृद्धसम्मका दर्शकहरुलाई हलसम्म तान्न सफल भएको छ । कात्तिक १६ मा नेपालगन्जमा मोफसलका दर्शक भेटघाट गर्ने टिमले १६ गते साँझ र १७ गते दाङ, १७ गते दिउँसो बुटवल र १८ गते नारायणगढको दर्शकसँग भेटघाट गर्दै काठमाडौं फर्किनेछन् । 

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराईली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र  एकल पुरुषसँगै  एक्लोपनको कथा फिल्ममा देखाइएको छ ।

भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । 
 


Author

थप समाचार
x