सिनेमा

'लाखे'का कलाकार भन्छन् : निर्माताको मनमुटावले फिल्म मर्यो

इकागज |
कात्तिक २०, २०७९ आइतबार ११:२४ बजे

काठमाडौँ - ‘लाखे’का कलाकार रोहित रुम्बाले निर्माताबीचको मनमुटावले राम्रो फिल्मको हत्या भएको बताएका छन् । उनले आइतबार बिहानै फेसबुकमा स्ट्याटस लेख्दै गुनासो गरेका हुन् ।

बुधबार प्रिमियर गरेको फिल्मले प्रिमियरमा हेर्ने दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । शुक्रबार फिल्मले फेरि सेलिब्रेटी बोलाएर फिल्म देखाएको थियो र दीपाश्री निरौला लगायतले फिल्म राम्रो रहेको प्रतिक्रिया दिएका थिए । यसरी प्रिमियर र विशेष सोमा तारिफ पाएको फिल्मबाट कलाकार आशावादी देखिन्थे ।


तर फिल्मले शुक्रबार–शनिबार नै हाउसफुलको व्यापार गर्न सकेन । सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, प्रशान्त ताम्राकार आदि कलाकारको भिड हुँदा पनि दर्शकले यो फिल्मलाई पत्याएनन् । कलाकार अहिले यो फिल्मको प्रचार नपुगेकाले दर्शक नआएको विश्लेषण गरिरहेका छन् । सम्भवतः रोहित रुम्बाले स्ट्याटसमार्फत यही संकेत गरेका हुन् । भदौ ३१ बाट कात्तिक ११ हुँदै कात्तिक १८ मा प्रदर्शन भएको फिल्मको निर्माताले खासै प्रचार गरेका थिएनन् । 

अपेक्षाविना फिल्म हेर्न जाँदा फिल्म ठीकै लागे पनि कलाकारको टिम हेरिकन भने फिल्म कमजोर रहेको समीक्षकको टिप्पणी थियो । फिल्मको क्लाइमेक्स एक्सनबाहेक तारिफ गर्न लायक हुनै चिज नरहेको समीक्षकले लेखेका छन् । 


Author

थप समाचार
x