सिनेमा

नेपालमा बक्स अफिस हिटको सूत्र : कमेडी, कमेडी, कमेडी

इकागज |
कात्तिक २१, २०७९ सोमबार १४:४७ बजे

काठमाडौँ -देशको ठूलो चेन क्युएफएक्सको वेबसाइट खोलेर ‘महापुरुष’को सो टाइममा जानुभयो भने एउटा सुखद दृश्य देखिन्छ । त्यो दृश्य हो, ‘फिलिङ फास्ट’ जनाउने पहेँलो रङ । प्रदर्शनको दोस्रो सातामा पनि ‘महापुरुष’ले उल्लेख्य दर्शक पाइरहेको छ । तिहार विदापछि रिलिज भएको फिल्मले पहिलो हप्ता आक्रामक व्यापार गरेको आँकडा आएका थिए ।

निर्माताका अनुसार फिल्मले पहिलो सात ५ करोड हाराहारी कमाइ गरेको छ । डेढ करोड हाराहारीको बजेटमा निर्माण भएको फिल्मले पहिलो हप्ता नै लगानी सुरक्षित गरिसकेको छ । यो फिल्मको बजेट किन पनि नियन्त्रित छ भने यो फिल्ममा मह जोडी, प्रदीप भट्टराई, रवीन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्री निर्माणमा साझेदार हुन् । फिल्मको मुनाफाबाट जे आउँछ त्यो उनीहरूले पूर्व निर्धारित सम्झौताअनुसार भाग लगाउँछन् । ‘महापुरुष’ यसरी हलमै चलेर निर्मातालाई दंग पार्न सफल पछिल्लो फिल्म हो । योअघि प्रदर्शन भएको ४ फिल्मले यो साल यसरी निर्मातालाई यसरी नै दंग पारेका छन् र ६ महिनाको छोटो अवधिमै यति धेरै फिल्म सफल हुनु नेपाली फिल्मको इतिहासमा दुर्लभ घटना हो । 


वैशाखदेखि कात्तिकको तेस्रो हप्तासम्म अहिलेसम्म कुल ३१ फिल्म प्रदर्शन भएका छन् । यसरी प्रदर्शनमा आएका फिल्ममध्ये ‘कबड्डी ४’, ‘झिँगेदाउ’, ‘दुई नम्बरी’, ,‘प्रेमगीत ३’ र ‘महापुरुष’लाई यो साल हलबाटै लगानी उठाउने फिल्मको रुपमा हेरिएको छ । यही साल प्रदर्शन भएका ‘ए मेरो हजुर ४’, ‘प्रकाश’, ‘के घर के डेरा’ले पनि बक्स अफिसमा राम्रै व्यापार गर्ने फिल्मको रुपमा लिइन्छ तर यी फिल्मको लगानी धेरै रहेकाले बक्स अफिसबाट मात्र यी फिल्म लगानी उठाउन नसकेको बताइने गरेको छ । 

विषयको हिसाबले यो साल विविधता पूर्ण फिल्म बने । यसमा पनि खासगरी मौलिक कथामा बनेका फिल्मको वर्चस्व रह्यो । मौलिक हुँदाहुँदै पनि प्रतिस्पर्धी नहुँदा भने यस्ता फिल्मले सुरुवाती राम्रो चर्चाका बावजुद बक्स अफिसमा दर्शक टिकाउन सकेनन् । यो अवस्थाले फिल्म निर्माणमा स्पष्ट धार देखिने अपेक्षा गर्न सकिन्छ । जसलाई कथालाई कलात्मक हिसाबले भन्न मन छ उनीहरूले यसमा थप मेहनतको खाँचो महसुस गरेका छन् र जसलाई यो खालको फिल्मले मात्र हुँदैन भन्ने लागेको छ, उनीहरू प्रतिस्पर्धी व्यावसायिक फिल्म बनाउन तात्नेछन् ।

यो साल चलेका फिल्मलाई सरसर्ती हेर्ने हो बक्स अफिसमा चलेका फिल्ममा समान एउटा विशेषता देखिन्छ, त्यो विशेषता हो फिल्मले हँसाउनु । ‘कबड्डी ४’देखि ‘महापुरुष’सम्म आइपुग्दा यी फिल्म चल्नुमा यही एउटा विशेषतालाई मुख्य कारक मान्दा फरक पर्दैन । यसमा ‘प्रेमगीत ३’ मात्र अपवाद हो । यो फिल्मको उद्देश्य दर्शक हँसाउने थिएन तर हिन्दी डब र विश्वव्यापी रिलिजको चर्चाले चल्यो । दर्शकले जुन फिल्मको ट्रेलरमा हँसाउने गुण देखे, त्यही फिल्ममा झुम्मिएका छन् । यसले महामारीपछि दर्शकमा कमेडी फिल्मप्रतिको तृष्णा झन् बढेको संकेत गर्छ ।

हिजोका दिनमा पनि नेपाली  फिल्ममा कमेडी हुन्थ्यो । तर पहिलाका फिल्ममा कमेडी अचारझैँ ट्वाक्क लाग्ने गरी आउँथ्यो । कथाको आधार नै कमेडी हुन्नथ्यो । तर ‘छक्का पञ्जा ४’को सफलताले कमेडी मेनस्ट्रिम बनेको छ । फिल्म जे जस्तो होस् जुन फिल्मले ट्वाक्क टुक्क हँसाउँछन् त्यसमा दर्शकको चासो देखिने गरेको छ ।
अझ यो साल चलेका ‘कबड्डी ४’, ‘झिँगेदाउ’, ‘दुई नम्बरी’, ‘महापुरुष’ सबैको दर्शक हल बोलाउने मुख्य औजार नै कमेडी बनेको छ । दर्शकले व्यावसायिक फिल्म बनाउनेहरूलाई ओपन सेक्रेट सूत्र बताएका छन्, ‘यदि हाँस्ने ग्यारेन्टी हुन्छ भने हामी हल आउन तयार छौँ ।’ 

अझै यो साल कमेडी फिल्मको अगुवा ‘छक्का पञ्जा ४’ रिलिज हुन बाँकी नै छ । अहिलेको घोषणाअनुसार यो फिल्म फागुन १९मा रिलिज हुँदैछ । यसको सफलतामा सायदै कसैलाई शंका होला । यसले समग्रमा नेपाली सिनेमा ५ वर्षको फिल्मको धार कता जान्छ भन्ने कुरा पनि संकेत गर्छ । किनकि कमेडी बनाएर पैसा कमाएका निर्माता त यो धार छोड्न चाहादैनन् नै, अरुनै श्रेणीका फिल्म बनाएर पैसा गुमाएका पनि फेरि एक पटक कमेडी फिल्म बनाउने जमर्को गर्नेछन् । 


Author

थप समाचार
x