सिनेमा

हिरोइन बनिरहन जसलाई विवाहले छेकेन

इकागज |
कात्तिक २४, २०७९ बिहीबार १४:३६ बजे

काठमाडौँ- विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीको भने करिअर निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला नै हुने गरेका दृष्टान्त छन् । कुनै समय विवाहपछि अभिनेत्रीको अभिनय करिअरनै नरहने समय पनि थियो तर आजभोलि दर्शकले हिरोइनको सिउँदो भन्दा पनि अभिनय क्षमता हेर्छन् । दर्शकको यही बदलिँदो सोचको फाइदा उठाउँदै  नेपाली ग्ल्यामर क्षेत्रमा केही त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले विवाह पश्चात करिअरलाई उचाइमा लगेका छन् ।

बिहे गरेपछि ‘फ्यान फलोइङ’ घट्छ, अझ सन्तान जन्मिएपछि त फिल्मी करिअर नै समाप्त हुन्छ भन्ने बुझाइ ग्यामलर क्षेत्रमा पाइन्छ । यद्दपि नेपाली फिल्ममा बिहेपछि नै अभिनय करिअर सुरु गरेर सफलता चुमेका थुप्रै उदाहरण छन् । सदाबहार अभिनेत्रीको उपाधि पाएकी अभिनेत्री करिश्मा मानन्धरले विवाह अघि नै करिअर सुरु गरे पनि अभिनय यात्रामा सफलता विवाह पश्चात प्राप्त गरेकी हुन् । कस्तुरी फिल्मको सुटिङका क्रममा सोही फिल्मका निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो । बिस.२०४६ मा निर्माण भएको ‘सन्तान’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मानन्धरले छोरी हुर्काउँदै अभिनयलाई निरन्तरता दिएकी थिइन् । उनले फिल्ममा प्राप्त गरेको सफलता विवाह पश्चातनै हो ।


२०५२ सालमा निर्माण भएको ‘दाइजो’ फिल्ममा छोटो भूमिकामा देखिएकी अभिनेत्री झरना थापा २०५५ सालमा आफैँले निर्माण गरेको ‘धर्मसङ्कट’ बाट स्थापित भइन् । यो फिल्मलाई उनकै पति सुनिलकुमार थापाले निर्माण गरेका थिए । यसपछि भने उनले घरबाहिरका थुप्रै फिल्ममा काम गरिन् । उनले पनि छोरी हुर्काउँदै अभिनयलाई निरन्तरता दिएकी थिइन् । 'मलाई आमा हुँदा करिअरमा कुनै असर गरेन् । मैले छोरीलाई समय दिन सकिन भन्ने चाहिँ लाग्थ्यो । मलाई त विवाहले कुनै असर परेन,''उनले भनिन् ।  झरनाझैँ विवाहपश्चात् अभिनयमा चम्कनेमा रेखा थापा पनि पर्छिन् ।

पहिलो फिल्म 'हिरो' रिलिज नहुँदै विवाह गरेकी रेखाले हिरोइन स्टार हुने युगको सुरुवात गरेकी थिइन् । सञ्चिता लुइँटेल, प्रियङका कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाह पश्चात अभिनयमा सक्रिय नै छन् । उनीहरु विवाहले अभिनयमा निरन्तरता दिन कुनै गाह्रो नपारेको बताउँछन् । विवाहपछि थप आत्मविश्वासी बनेको दाबी गर्ने आँचल  विवाह पश्चात झनै स्वतन्त्र महसुस भएको बताउँछिन् । 'विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ । श्रीमान्को साथले करिअरलाई अगाडि बढाउन झन् सजिलो हुँदोरहेछ । म छोरी र बुहारीको भूमिकालाई सन्तुलन गरेर अभिनय यात्रामा छु',अभिनेत्री शर्माले भनिन् ,'अभिनेत्रीले अभिनय गर्न सक्दासम्म अन्य पक्षले असर गर्छ जस्तो लाग्दैन् ।'

उनले अभिनय गरेको फिल्म ‘झिँगेदाउ’ यसवर्षको सुपरहिट फिल्ममा सामेल भइसकेको छ । आँचल अहिले नाइँ नभन्नू ल ६मा काम गरिरहेकी छिन् भने उनको वर एन्ड वधु रिलिजको तयारीमा छ ।

 


Author

थप समाचार
x