सिनेमा

‘डेसान’  टिजरमा भोला र नम्रताको लुकामारी

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार ११:४ बजे

काठमाडौँ- महामारीको कथामा निर्माण गरिएको फिल्म ‘डेसान’ को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार प्रेसमिट गरी दर्शकमाझ ल्याइएको टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजिक न्यायको विषयलाई प्रस्तुत गरिएको देखिन्छ । चलचित्र मंसिर २३ गते प्रदर्शन हुँदैछ ।

कमल एक्चै मगर निर्देशित फिल्ममा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजङ सारु, मलिका बस्नेत, प्रमिशा सारुमगरलगायतको अभिनय छ । टिजरमा फिल्मका सबै प्रमुख कलाकार समेटिएको छ ।


निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासदी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण गरे । उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरुले जोखिम मोलेर सुटिङ गरेको बताए । अभिनेत्री नम्रताले कोरोना कालमा सुटिङ गर्दा कतिपय ठाउँमा असहयोग र असहजता भए तापनि अहिले फिल्म प्रदर्शन हुन लाग्दा भने त्यतिबेलाको दुःखपीडा बिर्सिएको बताइन् । 

अभिनेता भोला सापकोटाले पनि कोरोना भाइरसको त्रासले गर्दा ‘डेसान’ को सुटिङका क्रममा दुख खेप्नु परेको सम्झदै अब भने फिल्म रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । निर्देशक मगरले सुटिङमा दुःख पाएको भए तापनि अहिले फिल्म हेर्दा सबै पीडा भुलेको बताए । ‘दर्शकको लागि निकै दुख गरेर फिल्म बनाएका छौ,’ उनले भने,‘फिल्मले पूर्ण मनोरञ्जनका साथै समाजिक सन्देश पनि प्रवाह गरेको छ । त्यसैले आम दर्शकलाई हेर्न आग्रह गर्दछु ।’

पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको वितरण एफडी,जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ । 
हेर्नुस् टिजरः


Author

थप समाचार
x