सिनेमा

दर्शकसँग पैसा नभएको भन्दै पारिश्रमिक घटाउने तयारीमा अक्षयकुमार

इकागज |
कात्तिक २८, २०७९ सोमबार १४:६ बजे

मुम्बई -  अभिनेता अक्षयकुमारले आफ्नो पारिश्रमिक घटाउने घोषणा गरेका छन् । उनले दर्शकसँग खर्च गर्ने पैसा धेरै नभएको भन्दै आफूले लिँदै आएको पैसा घटाउने वाचा गरेका हुन् । अक्षयले एउटा फिल्मका लागि सय करोडदेखि १ सय ३५ करोडसम्म पैसा लिँदै आएका थिए ।

यो साल अक्षय अभीनित कुनै पनि फिल्मले लगानी उठाउन सकेका छैनन् । ‘बच्चन पाण्डे’, ‘रक्षा बन्धन’ हुँदै ‘रामसेतु’सम्मले पनि निर्माता डुबाएपछि अक्षयकुमार आफ्नो पारिश्रमिक कम गर्ने मनस्थितिमा पुगेका हुन् ।


दक्षिण भारतीय अभिनेता रामचरणसँग एउटा कार्यक्रममा गएका उनले आफूले नयाँ तरिकाले काम गर्न जरुरी रहेको बताएका थिए । ‘धेरै कुरा फेर्न जरुरी छ । यसमा कलाकारदेखि निर्माता र हलले पनि सोच्नुपर्ने छ,’उनको भनाइ थियो, ‘म आफ्नो पारिश्रमिक ३० देखि ४० प्रतिशतले घटाउन तयार छु । हलले पनि बुझ्न जरुरी छ कि अहिले मन्दीको समय चलिरहेको छ । दर्शकसँग मनोरञ्जनका लागि खर्च गर्ने पैसाको कमी छ । सबै कुरा परिवर्तन गर्ने समय आएको छ ।’

अक्षयकुमारले वर्षको ४ वटा फिल्म गर्दै आएका छन् । फिल्म चल्न छाडेपछि उनको यो रणनीतिको पनि आलोचना भइरहेको छ । अक्षयकुमारले यसमा भने आफ्नो बचाउ गर्दै काम गरेको आलोचना गर्नुपर्ने कारण नरहेको बताएका छन् । उनले ‘जुवातास खेलेको हो र धेर गर्यो भन्नलाई ?’ भन्दै आफूले काम गरेको र त्यसमा आलोचना गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । 


 


Author

थप समाचार
x