सिनेमा

पाकिस्तानमा प्रतिबन्धित ‘जोयल्यान्ड’को अस्कर यात्रा के हुन्छ ?

इकागज |
मंसिर १, २०७९ बिहीबार १३:१० बजे

इस्लामाबाद-  ५ दिन अघि पाकिस्तान सरकारले आउँदो सालका लागि अस्करमा सिफारिस फिल्म ‘जोयल्यान्ड’लाई  पाकिस्तानमा प्रदर्शन गर्न नदिने निर्णय गर्यो । यसले अन्तर्राष्ट्रिय फिल्म समुदाय तरंगित भयो र पाकिस्तानी यो सरकारको निर्णयको विरोधमा उत्रियो । तर बाहिरका फिल्मकर्मीको विरोधले पाकिस्तानलाई केही फरक परेको छैन । उसले निर्णयमा कुनै पुनर्विचार गर्ने संकेत दिएको छैन ।

अभिव्यक्ति स्वतन्त्रताका हिमायतीका लागि फिल्म प्रतिबन्धित हुने कुरा त्यसै पनि राम्रो हैन तर यो फिल्म प्रतिन्धित हुँदा मात्र अर्को समस्या पनि आइपरेको छ । यो फिल्म हलमा प्रदर्शन हुन बाँकी नै छ र अस्करको निर्णयअनुसार अस्करमा प्रतिस्पर्धी बन्न हलमा हप्ता दिनसम्म प्रदर्शन भएकै हुनुपर्छ । जुन सिनेमा सिनेमाघरमा हप्ता दिनसम्म चलेका हुँदैनन् तिनीहरू अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा प्रतिस्पर्धी हुन योग्य हुँदैनन् । पाकिस्तानमा प्रतिबन्धित भएसँगै ‘जोयल्यान्ड’को अगाडि थपिएको चुनौती यही हो । 


तर निर्देशक सायम सदिकका अनुसार पाकिस्तानमा नचले पनि फिल्म एक हप्ताका लागि फ्रान्समा चल्दैछ जसले अस्करको हप्ता दिनसम्म हलमा चल्नैपर्ने योग्यता पूरा गर्नेछ । सदिकका अनुसार फिल्म यही नोभेम्बरको ३० तारिखदेखि फ्रान्सका हलमा चल्दैछ ।

अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा प्रतिस्पर्धी बन्नका लागि अमेरिकाबाहेकका देशमा एक हप्तासम्म चल्नुपर्ने नियम छ । योबाहेक अमेरिकामा नै यसरी हप्ता दिनसम्म प्रदर्शन भएका फिल्मले अन्तर्राष्ट्रिय फिचर फिल्मसँगै बाँकी विधामा पनि प्रतिस्पर्धा गर्न पाउँछन् । दक्षिण कोरियाको भइकन पनि ‘प्यारासाइट’ले यो मापदण्ड पूरा गरेकाले अन्तर्राष्ट्रिय फिचर फिल्मसँगै उत्कृष्ट निर्देशक र फिल्ममा यसले प्रतिस्पर्धा गर्न पाएको थियो र यसले अवार्ड पनि जितेको थियो । 

पाकिस्तानलाई पनि सकस के छ भने अहिले आएर यहाँको अस्कर छनौट समितिले पनि ‘जोयल्यान्ड’को साटो अर्को फिल्म सिफारिस गर्न पाउँदैन । किनकि त्यहाँबाट पनि फिल्म छनौट गरेर पठाउने सममसीमा सकिइसकेको छ । त्यसैले पाकिस्तानमा रोकिए पनि यदि निर्देशकले दाबी गरेअनुसार यो फिल्म फ्रान्समा प्रदर्शन हुने हो भने यसको अस्कर यात्रा भने सुरक्षित रहनेछ । 


Author

थप समाचार
x