सिनेमा

आउँदो चुनाव लड्ने कलाकारको रहर तर के पार्टीले पत्याउँछन् ?

इकागज |
मंसिर ४, २०७९ आइतबार १६:१८ बजे

काठमाडौँ - स्थानीय निकायको चुनावअघि नै कलाकार पार्टी राजनीतिका लागि जुर्मुराएका हुन् । त्यसैले चुनावको मुखमा केही नाम चलेका कलाकार पार्टी छानेर पार्टी प्रवेश पनि गरे । यसमा पनि मुख्यतया भुवन केसी र करिष्मा मानन्धरको पार्टी प्रवेशले चर्चा पायो । एमाले छाडेर भुवन केसी कांग्रेस प्रवेश गरे भने नयाँ शक्ति नेपाल पार्टी छाडेर बसेकी करिष्मा मानन्धर एमाले प्रवेश गरिन् ।

रातारात एमाले बनेकी करिष्मा मानन्धर त एमाले प्रवेश गर्ने बित्तिकै यति उत्साहित बनिन् कि उनले आफ्नो न्वारनको नाम नै सुर्जेकुमारी भएको घोषणा गर्दै सामाजिक सञ्जालमा पनि नाम परिवर्तन गरिन् । एमाले प्रवेश गर्दा नै करिष्मा पदको मोलतोलसहित प्रवेश गरेको चर्चा थियो तर करिष्मालाई स्थानीय चुनावमा पार्टीले उम्मेदवारको रुपमा पत्याएन । यता संसदीय टिकटको मोलमोलाई गर्दै कांग्रेस प्रवेश गरेका भुवन केसीलाई पनि कांग्रेसले चलचित्र विकास बोर्डको अध्यक्ष दिएर थुमथुम्याई दियो ।


तर दुवैलाई संघीय चुनावमा उम्मेदवार बन्ने रहर मरेको छैन । यो कुरा दुवैले प्रकट गरेका छन् , आज सम्पन्न संघीय तथा प्रदेश सभाको चुनावमा । काठमाडौँका विभिन्न क्षेत्रमा रहेको मतदान केन्द्रमा भोट हाल्दै भुवन र करिष्मा दुवैले आगामी चुनावमा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरे । यसमा रोचक के छ भने भुवन केसीले २०७४ सालमा भएको संविधान सभाको निर्वाचनमा झण्डै टिकट पाइसकेका थिए । एमालेले एक नम्बर क्षेत्रमा उनको नाम सिफारिस पनि गरेर पठाएको थियो तर पार्टी भित्रै विरोध भएपछि एमालले अन्तिममा उनको नाम फिर्ता लिएको थियो ।

त्यसयता भुवन केसी हारे नै पनि एकचोटि चुनाव लड्ने आकांक्षामा छन् । करिष्मालाई पनि एमालेले पाटीमा महत्वपूर्ण जिम्मेवारी  दिने अपेक्षा गरिएको थियो । त्यो त भएन नै । कम्तिमा समानुपातिक सूचीमा त उनको नाम अटाउला भन्ने पनि धेरैको आंकलन थियो । तर करिष्मालाई यो चुनावमा एमालेले कुनै पनि भूमिकामा पत्याएन । तर आइतबार मतदान गर्दागर्दै उनले आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेकी छिन् । तर सामाजिक सञ्जालमा लेखिने स्ट्याटसका कारण विवादमा परिरहने करिष्मालाई एमालेले पत्याउला भन्ने आश गरिहाल्ने ठाउँ छैन । यही अवस्था भुवन केसीको पनि छ । 

चलचित्र क्षेत्रमा गरेको योगदानका कारण जनतामाझ परिचित रहे पनि भुवन र करिष्माले अहिलेसम्म सामाजिक मुद्दामा धारणा राखेर आफ्नो उपस्थिति दर्ज गराउन सकेका छैनन् । यही अवस्था राजनीतिक मुद्दामा पनि छ । अनि यही समस्या राजेश हमालमा पनि छ जसले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने सम्भावना व्यक्त गरेका छन् । विदेश मामिलाका सम्बन्धमा यदाकदा बोले पनि बाँकी मुद्दामा उनको स्पष्ट धारणा आउने गरेको छैन । 

तर यही साल उम्मेदवार बनेकी रेखा थापाले भने महिलादेखि शासन प्रणालीसम्मका मुद्दामा स्पष्ट धारणा राख्दै आएको धेरैले महसुस गरेका छन् । प्रत्यक्षमा एमालेबाट उम्मेदवार बनेकी कोमल वलीले पनि समाचार र गायनबाट जति मन जितेकी थिइन् राजनीतिमा सोही स्तरको प्रभाव छाड्न सकेकी छैनन् । उनको स्ट्याटस र भाषणका धेरै अंश एमाले अध्यक्ष केपी ओलीको गुनगानमा खर्चिने गरेको धेरैले महसुस गरेका छन् । 

यो पटक कलाकाकारिताबाट उम्मेदवार बन्नेहरूको सूची लामै छ । तर ठूला पार्टीको माहोल कमजोर भएको समयमा पनि उनीहरूले आफूलाई फरक देखाउन सकेका छैनन् । यसले चुनावमा उठ्ने धेरैको रहर, रहरमा मात्र सीमित हुने कुरा नकार्न सक्ने अवस्था छैन ।  


Author

थप समाचार
x