सिनेमा

हलिउडमा अस्कर अवार्ड केन्द्रित फिल्मलाई बक्स अफिसमा पैसा उठाउन सकस

इकागज |
मंसिर २७, २०७९ मंगलबार १३:४७ बजे

फिल्म 'एल्भिस'को एक दृश्यमा अस्टिन बटलर

लसएन्जल्स- गत वर्ष अस्कर अवार्डमा मनोनयन पाएका ‘लिकोराइस पिज्जा’ र ‘नाइटमेयर एली’ले बक्स अफिसमा कमजोर प्रदर्शन गरे । यसले के देखायो भने अवार्ड केन्द्रित फिल्म अब हलका लागि उपयुक्त रहेनन् र ओटीटीले सिनेमाको संरचनामै व्यापक फेरबदल गरेका छन् । गत वर्षको दुःख बिर्सेर हलिउड स्टुडियो यो साल त्यो इतिहास नदोहोरिने आशमा थियो । तर यो साल पनि स्टुडियोको यो चाहना पूरा भएन । एकपछि अर्को गर्दै समीक्षक र बौद्धिक जमातबाट वाहवाही पाएका फिल्मले दर्शक पाएनन् ।

‘आर्मगेडन टाइम’को अनुमानित बजेट ३० मिलियन अमेरिकी डलर थियो तर यो फिल्मले बजारबाट जम्मा १.९ मिलियन मात्र कमाउन सक्यो । ‘टार’को लगानी ३५ मिलियन थियो तर फिल्मले बजारबाट उठायो जम्मा ५.३ मिलियन । यसैगरि, ‘डिभोसन’ निर्माणका लागि कम्पनीले १ सय मिलियन खर्च गरेको थियो तर टिकट बेचेर कमायो जम्मा १४ मिलियन । 


बक्स अफिसको सधैँ माया पाइरहने स्टिभन स्पिलवर्गले पनि यो साल बक्स अफिसमा अवार्ड केन्द्रित फिल्मको उदास व्यापारलाई खुसी बनाउन सकेनन् । स्टिलबर्गको ‘फेबलमेन्स’ले ४० मिलियन डलरको तुलनामा जम्मा ५.७ मिलियन मात्र कमाउन सक्यो । के सिनेमाको गुणस्तर यसको समस्या हो ? 

व्यापार विश्लेषक भन्छन्, ‘हैन’ । यी फिल्मको समीक्षा पनि बबाल आएको थियो । व्यापार विश्लेषकको अनुमान छ, मानिसहरूलाई यस्ता फिल्म घरमा बसेर हेर्न ज्यादा मजा आउने गरेको छ । कुनै दिन यस्ता फिल्म मल्टिप्लेक्समा लाग्दै नलाग्ने अवस्था आउने तिनको अनुमान छ । मानिसहरूमा हलको महत्व हुन छाडेको संकेत दिने पहिलो फिल्म ‘कोडा’ थियो जसले गत मार्चमा यो फिल्मले अस्कर अवार्ड जितेको थियो । एप्पल प्लसमा सार्वजनिक भएको यो फिल्मले उतकृष्ट फिल्मको अवार्ड जितेको थियो । 

बीचमा केही फिल्मले लगानीभन्दा राम्रै व्यापार गरेका पनि आँकडा छन् । जस्तो कि ‘टिल’ । सत्य कथामा आधारित यो फिल्मले अमेरिका र क्यानडाबाट मात्र ८.९ मिलियन पैसा कमाएको छ । यसको लगानी भने ३३ मिलियन रहेको अनुमान गरिएको छ । त्यसैगरि, ‘दि बन्सिस अफ इनिसिरिन’ले २८ मिलियन कमाइ गरेको छ ।
यसको अर्थ यो हो कि बजारले महामारीपछि पुरै लय समातिहालेको छैन । अझ अस्कर अवार्ड केन्द्रित फिल्म त विरलै ब्लकबस्टर हुन्छन् । तर ब्लकबस्टर नै नभए पनि केही समयअघि यस्ता फिल्मले लगानी भने ढुक्कले उठाउँथे ।

उदाहरणका लागि साम मेन्डिसको ‘१९७१’ १ सय ५९ मिलियन नर्थ अमेरिकाबाट मात्र कमाइ गरेको थियो भने विश्वभरमा यसको कमाइ ३ सय ८५ मिलियन थियो । यसरी नै सन् २०१० मा रिलिज भएको ‘ब्ल्याक स्वान’ले ३ सय २९ मिलियन कमाइ गरेको थियो ।अवार्ड केन्द्रित फिल्म दर्शकको रोजाइमा नपर्नमा सबैका आआफ्ना तर्क छन् । कोही कोरोना भाइरसको कारण यो अवस्था आएको बताउँछन् त कोही उमेरको फ्याक्टरलाई कारण मान्छन् । हलिउडमा ३५ वर्षमाथिकोलाई बूढोको रुपमा लिइन्छ र यही उमेर समूह नै हलिउड फिल्मको ठूलो दर्शक हो ।

अहिले यही समूह हल टेक्न छाडेकाले फिल्ममा दर्शकको कमी हुन गएको पनि केहीको विश्लेषण छ ।  केही भने परम्परागत हलमा गएर फिल्म हेर्न बानी परेका दर्शक ती हल बन्द हुँदा नयाँ मल्टिप्लेक्स जान छाडेको र यसले फिल्ममा असर गरेको तर्क गर्छन् । तर धेरै विश्लेषक के कुरामा सहमत छन् भने दर्शक घट्नमा फिल्मको कन्टेन्ट एउटा मुख्य कारण हो । 

एकदमै राम्रो समीक्षा पाएका फिल्म त्यो बेला हलमा आएका छन् जतिबेला दर्शक गम्भीर हैन हल्का फिल्म हेर्ने मुडमा छन् । महामारीको त्रास बिर्सन उनीहरू त्यहीँ पुर्याउने कथा हैन त्यहाँबाट भगाउने कथा हेर्न चाहान्छन् । यसको उदाहरणका रुपमा ‘एभरिथिङ एभरिह्वेर अल एट वन्स’, ‘एल्भिस’ लाई लिन सकिने समीक्षकको तर्क छ । यी फिल्मले लगानीभन्दा कैयौँ ज्यादा कमाइ गरेका छन् । तर यी दुई फिल्मलाई भगाउने भन्दा पनि मनोरञ्जन दिने सिनेमाको रुपमा बुझ्नु पर्ने उनीहरूको तर्क छ । 

(एजेन्सीको सहयोगमा) 
 


Author

थप समाचार
x