सिनेमा

म कहीँ गएकै छैन के को कमब्याक ?

इकागज |
पुस १, २०७९ शुक्रबार १२:५१ बजे

काठमाडौँ - अभिनेता आर्यन सिग्देल एउटा ‘क्लिन हिट’को खोजीमा छन् । पछिल्लो समय आश गरेका ‘कायरा’ र ‘हजार जुनीसम्म’ले पनि उनको त्यो खोज पूरा गर्न सकेनन् । यतिबेला आर्यनको त्यो आश ‘डिसेम्बर फल्स’मा गएर टिकेको छ । बारम्बार सुटिङ रोकिँदै बल्ल बल्ल पूरा भएको यो फिल्मलाई उनले भरोसाको फिल्म मानेका छन् । तर सार्वजनिक गीत र टिजरले भने त्यही कथा बयान नगरिरहेको धेरैको विश्लेषण छ ।

बिहीबार यो फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारले यही आशंका व्यक्त गरे । ट्रेलरपछि चलेको सवाल जवाफमा पत्रकारले आर्यनलाई सोधे, ‘यो फिल्मबाट आर्यन सिग्देलको कमब्याक हुने कुरामा कत्ति आशावादी हुनुहुन्छ ?’आर्यनले पत्रकारको प्रश्नमा आएको कमब्याक शब्द रुचाएनन् । उनले आफू कहीँ नगएकोले कमब्याकको प्रश्नको सार्थकता नै नभएको जिकिर गरे । 


‘कलाकारका लागि हरेक सिनेमा कमब्याक हुन्छ । किनकि एउटै फिल्म सफल भएर अर्को सिनेमा सार्वजनिक हुने बेलामा फेरि त्यहाँ कलाकारले आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ । त्यसैले कलाकारको हैन सिनेमाको कमब्याक हुनुपर्यो,’ उनले भने ।ट्रेलर सार्वजनिक कार्यक्रममा आर्यन फिल्मको प्राविधिक काममा पनि ढुक्कैसँग बसेको चर्चा चलेको थियो । आर्यनले सिनेमाप्रति विश्वस्त भएकाले आफूबाहेक पूरा टिमलाई सघाउन सकेको योगदान गरिरहेको बताए । 

‘जस्तो सिनेमामा आर्यन सिग्देललाई हेर्न चाहानुहुन्छ, त्यस्तै सिनेमा बनेको छ । यो कुरा म कन्फिडेन्सका साथ भनिरहेको छु । यसको स्क्रिप्टदेखि नै बसिरहेको छु । सिनेमा साँच्चै राम्रो बनेको छ,’ उनले भने । कार्यक्रममा अभिनेत्री उपासना सिंह ठकुरी भने थिइनन् । उनी अर्कै काममा व्यस्त रहेकाले नआएको कार्यक्रममा जानकारी दिइयो । रामप्रसाद रिजालको निर्माण रहेको फिल्मलाई प्रविन झाले निर्देशन गरेका हुन् । फिल्ममा सलोन बस्नेत, शिवहरि पौडेल, नरेश भट्टराई आदिको पनि अभिनय छ । 


Author

थप समाचार
x