सिनेमा

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण आइतबारदेखि

इकागज |
पुस २, २०७९ शनिबार १५:३६ बजे

काठमाडौँ- सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण आयोजना हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ (१८–२१ डिसेम्बर ) सम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुने छ । महोत्सवको उद्घाटन, लाइभ सांगीतिक कार्यक्रमसहित राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले गर्ने महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाईमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ देखाइने छ ।

महोत्सवको समापन समारोहमा दिपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिनेछ । विश्वभरीबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित  २५ देशका ६४ वटा चलचित्रहरु यस महोत्सवमा देखाइने छ ।


यस वर्ष महोत्सवमा नेपालबाट निर्देशक अभिनाष विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावन अधिकार अभियान्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर  र इजरायलबाट  लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा रहेका छन् ।  महोत्सवमा प्रर्दशन गरिने चलचित्रलाई चार विधाका उत्कृष्ट चलचित्रलाई नगद सहित अवार्ड प्रदान गरिने छ । त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ ।

महोत्सवमा ‘लुकेरा बसेका कथाहरुलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्ने विषयमा मास्टर क्लासको आयोजना गरिने भएको छ । मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिने छन् । त्यस्तै महोत्सवमा ‘जल वायु परिवर्तन र न्याय सम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरुसँग प्यानल छलफल पनि  राखिएको छ । महोत्सवमा प्रत्येक दिन चलचित्रहरु प्रदर्शनपछि मानव अधिकारकर्मी, चलचित्र पारखी एवं कलाकर्मीहरुबीच चलचित्र र मानव अधिकारको विषय अन्र्तक्रिया पनि गरिने छ ।

महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग रहने छ । महोत्सवमा युरोपियन युनियन नेपाल, नेपालका लागि अष्ट्रेलियाली दूतावास, इन्टरनेश्नल कमिसन अफ ज्युरिस्ट’ आइओएम लगायत विभिन्न संघसंस्थाको सहयोग रहनेछ । त्यस्तै महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र रिपोटर्स क्लबको सहकार्य रहेको छ ।   महोत्सव चलचित्रकर्मी र मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुका लागि चलचित्रको माध्यमबाट छलफल तथा अन्र्तक्रिया गर्ने महत्वपूर्ण मञ्च रहेको महोत्सवका निर्देशक पाण्डव खत्रीले बताए ।

‘यस्ता चलचित्र महोत्सवले फिल्म हेर्ने दर्शक बढाउने काम गरिरहेका छन् । विदेशी फिल्म कसरी निर्माण भइरहका छन्, कथा कसरी छनोट गरिएको छ, कथा वाचन गर्ने शैली, पात्र चयन, पात्रको अभियन, त्यसको खिचाइ कस्ता छन् भन्ने कुराबाट युवा पुस्ताका फिल्ममेकरले अनुभव गर्न पाउँनेछन् । यस्ता खालका महोत्सवबाट नेपाली कला, संस्कृतिको साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा समेत सहयोग पुर्याउने विश्वास लिएका छौं’, उनले भने ।
यो महोत्सवमा चलचित्रकर्मीहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्न समेत एउटा महत्वपूर्ण स्थान हुने उनको भनाइ रहेको छ ।


Author

थप समाचार
x