सिनेमा

‘महापुरूष’ले कार्बन खपत गरे बराबरको रुख रोप्‍ने

इकागज |
पुस ३, २०७९ आइतबार ११:९ बजे

काठमाडौँ - शनिबार मात्र ५१ दिन पूरा गरेको ‘महापुरुष’ले कार्बन खपत गरे बराबरको रुख रोप्ने भएको छ । फिल्मले ५१ दिनको उत्सव बनाउँदै सुटिङ तथा पोस्ट प्रडक्सनमा उत्सर्जन भए बराबरको कार्बनलाई पूर्ति गर्ने गरी रुख रोप्ने घोषणा गरेको हो । 

फिल्म निर्माणको सुरुदेखि अन्त्यसम्म वीन्ड–पावर नेपालले गरेको अध्ययनमा महापुरुषले ६.४१ टन कार्वन उत्सर्जन गरेको उल्लेख छ । ग्रीनहाउस ग्याँस (जीएचजी) प्रोटोकलअनुसार उक्त संस्थाले अध्ययन गरेको हो । यो उत्सर्जन बेलायतमा फिल्म निर्माण गर्दाको भन्दा ९० गुणाले कम रहेको अध्ययनमा संलग्न सम्राट पाठकले बताए । बेलायतमा एउटा फिल्म निर्माण गर्दा ६ सय टन र हलिउडमा १८ सय टन कार्वन उत्सर्जन हुने तथ्य उनले प्रस्तुत गरे ।


उनका अनुसार छायांकनदेखि समापनसम्म तीन स्कोपअन्तर्गत रहेर ‘कार्बन फुटप्रिन्ट’को अध्ययन गरिएको थियो । जसमा फिल्म छायांकनको बेला प्रयोग भएको बिजुली बस ४ हजार किमी गुडेको र यसबाट ३ टन कार्वन उत्सर्जन हुनबाट जोगिएको उनले उल्लेख गरे । ६ टनभन्दा बढी कार्बन उत्सर्जन गरेको तथ्यांक बाहिर आएपछि फिल्म निर्माताले २६६ रुख रोप्ने र ११ किलोवाट सोलार प्यानल जडान गर्ने घोषणा गरेका छन् । अभिनेता हरिवंश आचार्य एक्लैले गाउँमा डेढसय रुख रोप्ने र यसका लागि पानी ट्यांकीको निर्माण भइरहेको जनाए ।

निर्माता म्याक्स दिपेश खत्रीले अन्य फिल्मले पनि कार्वन उत्सर्जन घटाउने ढंगले काम गर्नुपर्ने बताए । कार्यकारी निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले अन्य फिल्म निर्मातालाई पनि प्रेरित गर्न आफूहरु कार्बन उत्सर्जनलाई कटौती गर्न प्रयास थालेको बताए । व्यक्तिगत रुपमा पनि आफूहरु कार्बन तटस्थ बन्ने प्रयासमा रहेको उनले सुनाए । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले सफलतासँगै दायित्व थपिएको बताए । भट्टराईको डेब्यू फिल्म ‘जात्रा’सँगै ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले समेत ५१ औँ दिन पार गरेको थियो । उनी लगातार चौथोपटक दर्शकसँगै घरेलु बक्स अफिसमा सफल निर्देशक बनेका छन् ।

निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको फिल्म ‘महापुरूष’ ले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, गोंगबुमा रहेको बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्स, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफ, चाबहिलको केएलटावरमा रहेको एफक्युब, बानेश्वरमा र कालिमाटीमा रहेको वान सिनेमाज र आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको हो । फिल्मले घरेलु बक्स अफिसबाट नै दश करोड बढीको कलेक्सन गर्न समेत सफल भएको छ ।
नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको फिल्म गत डिसेम्बर १ देखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन सुरू गरिसकेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य ÷ शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।


Author

थप समाचार
x