सिनेमा

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण सुरु

इकागज |
पुस ४, २०७९ सोमबार ११:१५ बजे

काठमाडौँ- नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण सुरु भएको छ । आइतबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको उद्घाटन गरेका हुन् ।  

उद्धघाटन समारोहमा सुभशन्ध्या ब्यान्डले सांगीतिक प्रस्तुति पनि  दिएको थियो । उद्घाटन समारोहमा बोल्दै आयोगका अध्यक्ष मगरले दुर्गम तथा पछाडि पारिएका सीमान्तकृत मानिसलाई मानवअधिकारबारे बुझाउनु आवश्यक रहेको बताए । ‘दूरदराजमा मानिसलाई मानव अधिकारको शिक्षा प्रदान गरेर मानव अधिकार भनेको भन्ने कुरा जानकार गराउँनु पर्छ । मानव अधिकारको शिक्षा प्रदान गर्ने शसक्त माध्यम नै सिनेमा हो । त्यसैले मानव अधिकारको सन्देश प्रवाह गर्न यस  महोत्सवले महत्पूर्ण भूमिका निर्वाह गर्न सक्छ’, उलने भने ।


राष्ट्रिय मानव अधिकार आयोगले पनि मानव अधिकार सम्बन्धी छोटो फिल्म निर्माण गरेर अधिकारको सन्देश प्रवाह गर्दै आइरहेको उनले बताए । त्यस्तै महोत्सवमा विश्वभरीबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित  २५ देशका ६४ वटा चलचित्रहरु देखाइने महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए ।

महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाईमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ देखाइयो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना भएको महोत्सव पुस  ६ सम्म चल्ने छ ।

महोत्सवमा नेपालबाट निर्देशक अभिनाष विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावन अधिकार अभियान्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर  र इजरायलबाट  लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा रहेका छन् ।  मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सवमा प्रर्दशन गरिने चलचित्रलाई चार विधाका उत्कृष्ट चलचित्रलाई नगद सहित अवार्ड प्रदान गरिने छ । त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ ।

महोत्सवमा ‘लुकेरा बसेका कथाहरुलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्ने विषयमा मास्टर क्लासको आयोजना गरिने भएको छ । मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिने छन् ।  महोत्सवको दोस्रो दिन ‘जल वायु परिवर्तन र न्याय सम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरुसँग प्यानल छलफल पनि  राखिएको छ । 

महोत्सवमा  प्रत्येक दिन चलचित्रहरु प्रदर्शनपछि मानव अधिकारकर्मी, चलचित्र पारखी एवं कलाकर्मीहरुबीच चलचित्र र मानव अधिकारको विषय अन्र्तक्रिया पनि गरिने छ । महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग रहने छ । महोत्सवको समापन समारोहमा दिपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिनेछ ।

महोत्सवमा युरोपियन युनियन नेपाल, नेपालका लागि अष्ट्रेलियाली दूतावास, इन्टरनेश्नल कमिसन अफ ज्युरिस्ट’ आइओएम लगायत विभिन्न संघसंस्थाको सहयोग रहनेछ । त्यस्तै महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र रिपोटर्स क्लबको सहकार्य रहेको छ ।  


Author

थप समाचार
x