सिनेमा

‘कान्छा’को आत्मकथामा ‘भाइ’को सरप्राइज

सामीप्यराज तिमल्सेना |
पुस ५, २०७९ मंगलबार १८:२९ बजे

सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा संगीतकार रञ्जित गजमेरको पुस्तक सार्वजनिक भइरहँदा डबलीको चारैतिर फन्को लगाइरहेका एक युवकले धेरैको ध्यान खिचिरहेका थिए । डबलीमा नेपाली साहित्य र संगीतका एकसे एक धुरन्धर थिए, अभि सुवेदी, कुमार नगरकोटीदेखि भुवन केसीसम्म । तर, यिनीहरूको उपस्थितिलाई छायाँमा पारेका थिए, ती युवकले । निलो सुटमा सजिएका उनी हिन्दी फिल्ममा गरिबका बीचमा देखिने सेठजी जस्तै थिए । सफा, सुग्घर अनि खानदानी । उनी को होलान् ?

कार्यक्रममा सुरु नहुँदासम्म धेरैको मनमा खेलिरहेका थिए । 'को हो यार त्यो ?’ केहीका ओठमा पनि खेलिरहेका थिए, उनी । 


शेखर खरेल लिखित ‘मोहनी मादलको’ पुस्तक विमोचनको निर्धारित कार्यक्रम दुई बजेको थियो तर तीन बजेतिर बल्ल सुरु भयो । रञ्जित गजमेरको संगीत रहेका दुई कालजयी गीत खराब साउन्ड सिस्टमका साथ मञ्चमा प्रस्तुत भए । कार्यक्रम प्रस्तोता मन्दिरा ढुंगेलले गीतको प्रस्तुतिपछि पुस्तक विमोचनका लागि अतिथिहरू मञ्चमा बोलाउन थालिन् । अतिथिहरूको नाम लिने क्रममा अन्त्यतिर उनले नाम लिइन्, सत्यजीत गजमेर, रञ्जित गजमेरका एक मात्र पुत्र ।

नाम उच्चारण भएर मञ्चमा उक्लिँदा केहीको मनबाट र केहीको मुखबाट निस्कियो –सत्यजीत गजमेर, ‘दक्षिणा’ फिल्मको हिरो । फिल्ममा भुवन केसीको भाइ  ।

‘दक्षिणा’ पछि कुनै पनि नेपाली फिल्ममा नदेखिएका सत्यजीत धेरै वर्षपछि प्रत्यक्ष देखिँदा धेरैले ठम्याउन सकेका थिएनन् । त्यसै पनि पर्दामा र असल जीवनमा मानिस एकै हुँदैन । अझ यो फिल्म रिलिज भएको नै ३० वर्ष हुन लागिसकेको छ ।

पुस्तकको विमोचनका लागि सत्यजीत आइतबार मध्यान्ह मात्र काठमाडौँ ओर्लेका थिए त्यो पनि बुबा रञ्जित गजमेरलाई ‘सरप्राइज’ दिँदै ।

खासमा उनी काठमाडौँ आउने कार्यक्रम थिएन । पुस्तक विमोचनका लागि मुम्बईबाट नेपाल आउन लागेका रञ्जित गजमेरलाई एयरपोर्ट छाड्न गएका थिए, सत्यजीत । उनले पहिले नै बुबालाई आफू नआउने बताइसकेका थिए । तर, पनि एयरपोर्टभित्र छिर्ने बेलामा रञ्जितले गुनासो गरिहाले, ‘पापाके पुस्तक विमोचनमेँ बेटा नहीँ आरहा है । पापाको क्या मजा आएगा ।’

सत्यजीतले रञ्जितको कुरालाई हाँसोमा उडाए । तर, एयरपोर्टबाट फर्किरहँदा बुबाले मजाक मजाकमा भनेको कुरा उनलाई शूलझैँ बिझायो ।

उनले बाटैबाट श्रीमतीलाई फोन लगाए, ‘शास्वती, मुम्बई से काठमाडौँका फस्ट फ्लाइट कौन सा है देख तो ।’ शास्वतीले बेलुकी ४ बजेको फ्लाइटमा टिकट रहेको जानकारी गराइन् । उनले सोही टिकट काट्न लगाए र एयरपोर्टमा तीन घन्टा कुरेर काठमाडौँ झरे ।

‘बुबा भरे भोलि पोखरा जाने कार्यक्रम छ । म चाहिँ भोलि नै फर्कन्छु,’ उनले डबलीको एउटा कुनामा इकागजसँग कुरा गर्दै सुनाए ।

वि.सं २०५१ मा प्रदर्शन भएको ‘दक्षिणा’मा सत्यजीतले भुवन केसीको भाइको भूमिका निर्वाह गरेका थिए । रञ्जित गजमेरको कालजयी संगीतले भरिएको यो फिल्मलाई तुलसी घिमिरेको निर्देशन यात्राको महत्वपूर्ण फिल्म मानिन्छ । यसले व्यावसायिक सफलतासँगै समीक्षकको पनि मन जितेको थियो । यति हुँदा पनि सत्यजीत अर्को नेपाली फिल्ममा किन देखिएनन् ? बोलक्कड स्वभावका सत्यजीतले आफूलाई हिरो बन्ने कुरामा कुनै चाख नै नभएकाले दोहोर्‍याएर कुनै नेपाली फिल्म नखेलेको बताए ।

‘मलाई त हिरो बन्नु नै थिएन । म त जहिले पनि पर्दा पछाडि काम गर्न मन पराउँथेँ । दक्षिणामा हिरो बन्नु संयोग थियो । यो पछि फेरि त्यस्तो संयोग पर्नै दिइनँ,’ उनले भने ।

सत्यजीतका अनुसार यो फिल्मको सुटिङको तयारी भइरहँदा उनी १९–२० वर्ष छेउछाउका थिए । फिल्मको एउटा भूमिकाका लागि भुवन केसी फिक्स थिए । तुलसी घिमिरेलाई खोजी थियो, दोस्रो हिरो अर्थात् भुवन केसीको भाइ बन्ने कलाकारको । घरमा दिनदिनै नयाँ हिरो आउँथे । यी हिरो देखेर सत्यजीत भिनाजुको मुखैमा भनिदिन्थे, ‘छि...यस्तो हिरो । कामै छैन ।’

सत्यजीतको कुराले चिढिएका तुलसी घिमिरेले एक दिन त्यो तीर उनीतिर फर्काए, ‘तँलाई यति धेरै कन्फिडेन्स छ भने आफैँ किन गर्दैनस् ?’

सत्यजीतले तुलसी घिमिरेलाई आफ्नो शरीरतिर संकेत गर्दै भने, ‘गर्न त म गरिदिन्थेँ तर...। सत्यजीतले शरीरतर्फ संकेत गर्नुको मतलब थियो, उनको वजन । २० वर्षको उमेरमा सत्यजीतको वजन मान्छेको पूरा आयु काटेर चार बित्ता माथि उक्लिएको थियो । अर्थात् सत्यजीतको वजन उसबेला १ सय ४ केजी थियो ।

तुलसी घिमिरेले इख्याए, ‘दुई महिनामा घटाएर देखा । तँलाई हिरो म बनाउँछु ।’

हिरो बन्ने भन्दा पनि तुलसी घिमिरेको च्यालेन्जले सत्यजीतलाई घोच्यो । उनले दुई महिनामा २६ केजी तौल घटाए । अन्ततः उनी यसरी ‘दक्षिणा’को हिरो बने ।

नेपाली फिल्ममा अभिनयको कुरा गर्दा आफूले अर्को पनि फिल्म खेलेको उनले स्मरण गरे । त्यो फिल्म थियो, ‘बाँसुरी’ ।

‘बाँसुरीमा हिरोलाई लात्ती हान्ने फुच्चे याद गर्नुभएको छ । त्यो मै थिएँ,’ उनले सुनाए । यतिबेला उनको उमेर पाँच वर्षको थियो ।

सत्यजीतलाई पर्दा अगाडिभन्दा पनि पर्दा पछाडिको काममा रुचि थियो । उनी धेरै बाजा बजाउन जान्दछन् र बुबाले संगीत गरेका थुप्रै कालजयी गीतमा उनले बाजा बजाएका पनि छन् । तर, मुम्बईमा बसिरहँदा उनले बाजासँगै सम्पादनको काममा पनि आफूलाई निखार्दै लिएर गए र अहिले उनी बलिउडमा फिल्म सम्पादकका रूपमा स्थापित नाम बनेका छन् ।

बलिउडमा उनको सम्पादन यात्रा अनिल कपुर, सुनिल सेठ्ठी, अरसद वारसी अभिनित ‘चकलेट’बाट सुरु भएको थियो । त्यसयता उनले फिल्म, सिरिज र म्युजिक भिडियो गरी ५० बढी फिल्ममा काम गरेका छन् ।

पछिल्लो समय उनले अजय देवगनले निर्माण तथा अभिनय गरेको ‘रुद्र’मा सम्पादकको काम गरेका थिए । ओटीटीमा सार्वजनिक भएको यो सिरिजमा उनको नाम ‘डाक्टर एडिटर’का रूपमा आउँछ । अजय देवगनले अनुरोध गरेपछि अन्तिम समयमा आएर काम गरेकाले आफूलाई त्यो नाम दिइएको उनले बताए ।

‘रुद्रको सम्पादन ध्वस्त थियो । राजु (अजय देवगन)ले बोलाएर, हेर त केही गर्न सक्छस् भने पनि मैले अरूले गरेको कामलाई मिलाएको हुँ । त्यसैले सिरिजमा मेरो नाम डाक्टर एडिटरका रूपमा आउँछ,’ उनले भने ।

उनले बलिउड निर्देशकमध्ये सबैभन्दा धेरै काम भने ‘काश्मिर फाइल्स’ निर्देशक विवेक अग्निहोत्रीसँग गरेका छन् । उनले सम्पादन गरेका, ‘हेट स्टोरी’, ‘गोल’, ‘बुद्ध इन ट्राफिक जाम’, ‘तासकन्द फाइल्स’ र पहिलो चोटि सम्पादन गरेको ‘चकलेट’का पनि निर्देशक विवेक नै हुन् ।

अहिले भने सत्यजीत ‘लैला मन्जु’ र ‘वाणी’ गरी दुई फिल्ममा सम्पादकका रूपमा अनुबन्ध भएका छन् जुन फिल्म सुटिङ हुने तरखरमा छन् ।

फिल्म सम्पादनबाहेक सत्यजीतको नाममा दुई दर्जन सिरिज र सिरियल पनि छन्, जहाँ उनले तिनको साउन्ड डिपार्टमेन्टमा रहेर काम गरेका थिए । केही फिल्ममा उनले सहायक निर्देशन पनि गरेका छन् । 

रञ्जित गजमेरलाई नेपाली संगीतबाट निकाल्ने हो भने त्यहाँ सन्नाटा मात्र बाँकी रहन्छ । यस्ता होनहार संगीतज्ञका छोरा भए पनि उनको नाममा थोरै मात्र गीत छन् । तर, जति छन् ती पनि कम कालजयी छैनन् ।

‘तृष्णा’ फिल्मको ‘यो कथा हो तृष्णा मेरो’ र ‘उपकार’ फिल्मको ‘मखमली माया दिउँला’ उनैलै सिर्जना गरेका गीत हुन् । ‘यो बाहेक अरू दुई तीनवटा होला ती खासै चलेनन्,’ उनले सम्झना गरे ।

बुबा रञ्जित गजमेरले गरेका अनेक गीतको साक्षी बनेका सत्यजीत बुबाले अति नै मेहनत गरेका तर सोचे जति नचलेका गीतको सम्झना गर्दा सत्यजीतलाई तीन फिल्मको सम्झना आउँछ ।

सत्यजीतका अनुसार रञ्जित गजमेरले ‘मसाल’, ‘प्रतीज्ञा’ र ‘वासुदेव’का लागि धेरै नै मेहनत गरेका थिए । ‘तर तुलनात्मक रूपमा यी तीनै फिल्मका गीत भने चलेनन्,’ उनले क्षणभरअघि दिनेश अधिकारीले चर्चा गरेको ‘कुन मन्दिरमा जान्छौ यात्री’को सन्दर्भ स्मरण गर्दै भने ।

सत्यजीतले बुबाको संगीतमा गीत गाउने हरेक गायक गायिकाको आनीबानी बेहोरेका छन् । त्यसमा उनलाई सताउने एउटा सम्झना भने नारायण गोपालको छ ।

सत्यजीतका अनुसार फिल्म ‘लाहुरे’को ‘वीरताको चिनो’ गीत रेकर्डका लागि नारायण गोपाल मुम्बई आएका थिए । गीतको रिहर्सलका लागि घरमै आउँथे । तर, हतार भएका बेला स्वर सम्राट् ट्वाइलेटमा घन्टौँ बसिदिने । ‘म सानै थिएँ, उहाँ जुँगा काट्न भनेर ट्वाइलेट छिर्नुहुन्थ्यो तर आधा घन्टा बढी बाथरुममै बसिदिने । मलाई स्कुल जान हतार भएको हुन्थ्यो । उहाँका दारी बाक्ला र धेरै भने थिएनन्,’ उनले सम्झिए । 

बलिउडमा काम गरेको अनुभव उनी नेपालमा निर्देशनमार्फत पोख्न चाहन्छन् तर यसका लागि संसारका निर्देशकको कष्टझैँ उनको पनि कष्ट छ, कथाको । यसका लागि उनी चनाखो भएर कथाहरू हेरिरहेका छन् ।

‘फिल्म गर्नका लागि केही समस्या छैन । तर, मेरो चाहना छ, नेपालको कथाले विश्वलाई जोडोस् । नेपालको कथामा बन्ने फिल्म सारा दुनियाँले देखास्,’ उनले भने ।

सत्यजीतले यसका लागि एउटा कथामा काम पनि सुरु गरेका थिए । यो कथा थियो, मानव तस्करीको ।

रवि लामिछानेको कार्यक्रममार्फत सतहमा आएको मानव तस्करीको कथालाई पर्दामा वाचन गर्ने उद्देश्यसहित उनले रिसर्चको काम सुरु गरेका थिए । यसका लागि उनले रवि लामिछानेलाई भेटेर कथालाई मूर्त रूपमा दिने सोचेका थिए । तर, रवि लामिछानेले भेट्छु भनेर भेट नदिएपछि उनको यो कथा अधुरै छ ।

उनले थपे, ‘कथा सानो होस् । तर, युनिभर्सल होस् । यस्तो कथा पायो भने मलाई सम्झनु भए हुन्छ ।’

रञ्जित गजमेरले इकागजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘मुम्बईमा मलाई रञ्जित गजमेर भनेर खोज्नुभयो भने कसैले नचिन्लान् तर कान्छा भन्नुभयो भने सबैले चिन्छन् ।’

उनै ‘कान्छा’को आत्मकथा विमोचन कार्यक्रममा ‘दक्षिणा’का भाइको उपस्थिति बाबुजीका लागि त ‘सरप्राइज’ थियो नै दाइ भुवन केसी र डबलीका दर्शकका लागि पनि कम ‘सरप्राइज’ थिएन ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x