सिनेमा

‘हामी कुनै एउटा हलको सिन्डिकेट मान्दैनौँ’

इकागज |
पुस १५, २०७९ शुक्रबार १२:२० बजे

काठमाडौँ - ‘छक्का पञ्जा ४’ र ‘ छड्के २’ एकै मितिमा रिलिज हुने भएपछि फिल्मवृत्तमा तरंग आएको छ । अझ देशको ठूलो सिनेमा चेन क्युएफएक्सले ‘छक्का पञ्जा ४’ मात्र सो मितिमा रिलिज गर्ने अभिव्यक्ति दिएपछि फिल्म प्रदर्शन सिन्डिकेट युगमा फर्किन लागेको टिप्पणी सुरु भएका छन् । ‘छक्का पञ्जा ४’ र ‘ छड्के २’ फागुन १९ मा रिलिज हुँदैछन् । 

क्युएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाले बिहीबार एक अनलाइनमा आफूहरूले एउटा मात्र फिल्म रिलिज गर्ने निर्णय गरेको र अहिलेका लागि फागुन १९ मा ‘छक्का पञ्जा ४’ लाई यो समय दिइसकेको बताएका थिए । उता ‘छड्के २’ फिल्मका वितरक सुनिल मानन्धरले भने भाष्कर ढुंगानाले मिडियामा जे भनको भएपनि क्युएफएक्स म्यानेजमेन्टले ‘छड्के २’ रिलिज नगर्ने भन्ने जवाफ नदिएको बताए ।


‘हिजो मसँग उहाँहरूले मिटिङ गर्नु भएको थियो । म्यानेजमेन्टले एउटा मात्र फिल्म लगाउने भन्ने कुनै निर्णय नभएको बताउनु भएको छ । यदि उहाँहरूले फिल्म रिलिज नगर्ने हो भने पनि मेरो फिल्म यही मितिमा रिलिज हुन्छ । हामी एउटा हलको सिन्डिकेट मान्दैनौँ,’ मानन्धरले भने । क्युएफएक्सका अर्का साझेदार नकिम उद्धिनले अहिलेको विवादका विषयमा आफूलाई पूरा जानकारी नभएको बताउँदै दुइटा फिल्म जुध्दा दुवै निर्मातालाई घाटा हुने भएकाले आफूहरूले यस्तो निर्णय गर्ने सोचेको बताए । उनले सबैको राय लिएर म्यानेजमेन्टमा राख्ने र सोही अनुसार निर्णय आउने बताए । 

क्युएफएक्सले पहिले नै यो निर्णय गरेर वितरकलाई यो सम्बन्धी जानकारी पठाइसकेको दाबी गरे पनि  ‘छक्का पञ्जा ४’ र ‘ छड्के २’ रिलिजकै समयमा यो कुरा बाहिर आएकाले यसमा धेरैले षडयन्त्रको गन्ध भेटेका छन् । र क्युएफएक्सको यो निर्णयलाई विश्वज्योति हलको युगमा फर्काउने पनि धेरैले आशंका गरेका छन् ।कुनै समय थियो विश्वज्योति हलले नेपाली फिल्मको भविष्य निर्णय गथ्र्यो । विश्वज्योतिले दिने मिति हेरेर फिल्म प्रदर्शनको पालो सार्वजनिक गरिन्थ्यो । 

अझ ‘छड्के २’का वितरकले भने क्यूएफएक्सले ‘छक्का पञ्जा ४’ सँग कमिसन लिएर यस्तो निर्णय गरेको आरोप लगाएका छन् । वितरक मानन्धरले यो कुराले पहरो गर्जिने र आफू सिन्डिकेटका विरुद्धमा पछाडि नहट्ने बताए ।शुक्रबार नै क्यूएफएक्सबाहेकका मल्टिप्लेक्सको छलफल रहेको र यसले गर्ने निर्णयले यो प्रकरणलाई चर्काउने वा थन्काउने निर्णय हुने अनुमान गरिएको छ । 


Author

थप समाचार
x