सिनेमा

‘छक्का पञ्जा ४’ र ‘छड्के २’ भिड्ने खबरमा दीपकराज गिरी : पहिला धेरै भागेँ यो चोटि भाग्‍ने मुड छैन

इकागज |
पुस १८, २०७९ सोमबार १०:५९ बजे

काठमाडौंँ -  अभिनेता दीपक राज गिरीले ‘छक्का पञ्जा ४’ फागनु १९ मा नै आउने दाबी गरेका छन् । गिरीले पहिले व्यापारिक स्वार्थको ख्याल गरेर प्रदर्शन मिति दायाँबायाँ गरेकोमा धेरैले यसलाई कमजोरीको रुपमा लिएकाले यो पटक त्यसो नगर्ने बताएका हुन् । 

 ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ एकै मितिमा आउने भएपछि चलचित्र क्षेत्रमा यो भिडन्त चर्चाको विषय बनेको छ । यसमा पनि यी मध्ये कुनै एक फिल्म अन्तिम समयमा सर्नसक्ने आँकलन पनि गरिएको छ । यो विवादमा अझ सिनेमा चेन क्युएफएक्स पनि कुदेपछि यी दुई फिल्मको भिडन्तले धेरैका कान ठाडा पारेका छन् । तर अन्तिम समयमा दीपकराज गिरीले सम्झौता गरेको इतिहास छ । 


‘छक्का पञ्जा २’ रिलिजको दिनमै रोज राणाले निर्माण तथा निर्देशन गरेको फिल्म ‘मेरो पैसा खोई’ आउने भएपछि दीपकराज गिरीले रोज राणालाई रातारात पैसा दिएर काठमाडौँबाहिर एक हप्तापछि रिलिज सार्न लगाएको चर्चा थियो । ‘छक्का पञ्जा २’ २०७४ सालको असोज ११ मा रिलिज भएको थियो भने ‘मेरो पैसा खोई’ काठमाडौँमा सोही मितिमा र बाहिर २० गते रिलिज भएको थियो । यी दुवै चलचित्र दसैँको मुखमा रिलिज भएका थिए । 

‘छक्का पञ्जा ३’ रिलिजको समयमा पनि अशोक शर्माले दीपकराज गिरीलाई भाग्न बाध्य बनाएका थिए । अशोक शर्माले आफूले निर्माण तथा निर्देशन गरेको फिल्म ‘जय भोले’ रिलिजका लागि फूलपाती नछाडेपछि दीपकराज गिरीले घटस्थापनामा फिल्म रिलिज गरेका थिए । यो २०७५ साल असोज २४ को कुरा थियो । अशोक शर्माले २०७६ सालको दसैँबाट पनि दीपकराज गिरीको टिमलाई भगाएको थियो । ‘छ माया छपक्कै’ निर्माण गरेर दसैँमा नै प्रदर्शन गर्ने सोच बनाएका दीपकलाई यो पटकको दसैँमा पनि अशोक शर्माले ‘रातो टीका निधारमा’ रिलिज गरेर ढिम्किन दिएका थिएनन् । दसैँ सकिएपछि ‘छ माया छपक्कै’ असोज २४ मा रिलिज भएको थियो । 
दीपकराज गिरीले पहिले व्यापार देखेर कतिपय ठाउँमा सम्झौता गरेको भए पनि अहिले आफू सम्झौता गर्ने पक्षमा नरहेको बताएका छन् । ‘मेरो व्यापारिक स्वार्थलाई साथीहरूले कमजोरी माने । यो पटक म पछि हट्ने मुडमा छैन,’दीपकले इकागजसँग प्रतिक्रिया दिँदै भने । उनले आफूले यो पटक फिल्म वितरकलाई एमजी (मिनिमम ग्यारेन्टी) मा बेचिसकेको र विदेशमा फिल्म चल्नेजति सबै ठाउँमा बेचिसकेकाले व्यापारको तनाव नभएको बताए ।


‘पहिला मेरो पनि केटाकेटी बुद्धि थियो । व्यापार र केके भनेर चिन्ता गरिबस्थेँ । अब मलाई एउटै चिन्ता छ त्यो हो दर्शकको अपेक्षालाई निराश नबनाउने,’उनले थपे, ‘कुनै भवितव्य भयो भने बेग्लै कुरा हो । नत्र अब हाम्रो फिल्म फागुन १९ मै आउँछ ।’सूत्रका अनुसार ‘छक्का पञ्जा ४’ वितरक मनोज राठीले साढे २ करोड एमजी दिएर किनिसकेका छन् ।  

दीपकराज गिरीले अहिले क्युएफएक्सले ‘छड्के २’ रिलिज नगर्ने निर्णयमा आफ्नो हात रहेको हुनसक्ने अड्कलबाजी चलिरहे पनि आफूलाई यस विषयमा रत्तिभर जानकारी नभएको पनि स्पष्ट पारेका थिए ।‘मेरो त साथीहरूले इमेज नै यस्तो पारिसके कि म चुप लागेर बस्दा पनि केही भइहाल्यो भने दीपकराज गिरीले गर्यो होला भन्छन् । अहिले क्युएफएक्सले एउटा फिल्म मात्र रिलिज गर्ने निर्णय गरेको कुरा मैले पनि मिडियामा आएर मात्र थाहा पाएको हुँ,’ उनले भने, ‘यो सम्बन्धित हलको कुरा हो । यसमा मेरो केही धारणा छैन । तर यत्ति भन्न चाहान्छु, यसमा मेरो केही हात छैन । बरु इतिहास हेर्नुभयो भने जुन हलको कुरा उठेको छ, त्यसले मलाई विगतमा सहयोग नगरेकै इतिहास छ ।’

हेमराज बीसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’को अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ । दुई चार दिनमा फिल्मको सुटिङ सकिने र प्रचारमा निस्कने गिरीले इकागजलाई बताए । 


Author

थप समाचार
x