सिनेमा

फिल्म खेल्न भाउ बढाउँदै हिरोइन : स्वस्तिमा माग्‍न थालिन् १६ लाख, साम्राज्ञी १५

इकागज |
पुस १९, २०७९ मंगलबार १४:८ बजे

काठमाडौँ- नेपालमा हिरोको पारिश्रमिकले निर्माताको सातो खान थालेको थियो । अब यो लिस्टमा हिरोइन पनि थपिएका छन् । लकडाउनपछि हिरोइनहरूले पनि आफ्नो पारिश्रमिक दोब्बर तेब्बर बनाएका छन् ।  बजारमा हिरोइनले पैसा डिमाण्ड गर्ने र निर्माताबाट पाउने कुरामा विचलन हुन सक्छ तर अबको छिमलमा नाम चलेका हिरोइन लिनलाई कम्तिमा १० लाखको थैली ठिक्क पार्नुपर्ने भएको छ । 

हिरोइनले लिने पैसालाई लिएर हल्ला खल्ला भएको पहिलो नाम पूजा शर्मा हो । युट्युबतिर हल्ला खल्ला गरेकै भरमा उनले कुनै कुनै फिल्मका लागि २० लाख लिएको चर्चा थियो । पूजाले उसबेला ‘सम्झना बिर्सना’, ‘पोई पर्यो काले’ लगायतका फिल्मका लागि २० लाख हाराहारी पैसा लिएको दाबी गरिएको थियो । तर ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ बक्स अफिसमा नराम्ररी चित् खाएपछि उनले कति पैसा माग्छिन्, धेरैको चासोको विषय हो । 


फिल्मले पोस्टरको पैसा पनि नउठाइ रहने तर कलाकारले भने फिल्मैपिच्छे पारिश्रमिक बढाइरहने चलनले निर्माता भने पिरलोमा छन् । तर ‘आदतले मजबुर’ उनीहरूलाई नयाँलाई लिएर राम्रो फिल्म बनाउने आँट पनि गर्न सकेका छैनन् । नाम चलेका कलाकार लिए डिजिटल राइट्स र डायस्पोरामा दाम पाइहालिन्छ कि भन्ने आशमा निर्माता मुट मिचेर हिरोसँगै हिरोइनलाई पनि चर्को दाम तिर्न बाध्य छन् । 

‘क्याप्टेन’मा डेढ दुई लाख पारिश्रमिक लिएर अभिनय गर्न थालेकी उपासना सिंहले अहिले फिल्ममा काम गर्न १५ लाख डिमान्ड गर्न थालेकी छिन् । उनले १४ लाखमा त बन्ने सुरसार नरहेको ‘सत्यम्’ साइन गरेको खबर थियो । यही साल रिलिज भएको ‘दुई नम्बरी’मा ६ लाख पारिश्रमिक लिएर काम गरेकी उपासनाले यही निर्माताको ‘हात्तीछाप’मा १० लाख नघटेको चर्चा छ । ठाउँका ठाउँ ४ उपासनाले ४ लाख पारिश्रमिक बढाएपछि निर्माता किरण नेपालीले उपासनालाई साइन गर्न सकिइरहेका छैनन् । नेपाली ‘दुई नम्बरी’कै कलाकारको सेट दोहोर्याउने मनसायले उपासनाको माया पनि मार्न सकिइरहेका छैनन् । 

उता उपासनाले भर्खर बक्स अफिसमा पिटिएको फिल्म ‘डिसेम्बर फल्स’मा ९ लाख लिएको खबर थियो । जबकि यो फिल्ममा आर्यन सिग्देलले निर्माताबाट जम्मा ८ लाख पाएको चर्चा थियो । यो साल स्वस्तिमा खड्का अभीनित दुई फिल्म, ‘चिसो मान्छे’ र ‘चपली हाइट ३’ प्रदर्शनमा आए । उनका दुवै फिल्मको व्यापार उल्लेख्य थिएन । ‘चपली हाइट ३’मा स्वस्तिमा फिल्मको साझेदार थिइन् तर ‘चिसो मान्छे’मा उनलाई १० लाख पारिश्रमिक दिएको निर्देशकले बताएका थिए । तर फिल्म नचलेको कुराले स्वस्तिमालाई खासै असर परेको छैन । उनले नयाँ फिल्मको प्रस्ताव लिएर जाने निर्मातालाई १६ लाखको शर्त तेस्र्याउने गरेकी छिन् । उनले चाँडै नै फ्लोरमा जाने फिल्म १२ लाख लिएर साइन गरेको खबर छ ।  

हुँदा हुँदा दुई तीन फिल्म जेठी मलिका महतले पनि निर्मातासँग १२ लाख रुपैँयाँ माग्ने गरेकी छिन् । भर्खरै लक्ष्मण सुवेदीको अनाम फिल्म साइन गरेकी मलिकाले यो फिल्मका लागि १० लाख लिएको खबर छ । ‘यात्रा’बाट अभिनय सुरु गरेकी मलिकाको यही साल ‘पानी फोटो’ प्रदर्शनमा आएको थियो जसले बक्स अफिसमा कमजोर व्यापार गरेको थियो । 

पारिश्रमिकका कारण खबरमा आएकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह पनि हुन् ।  उनले ‘इन्टु मिन्टु लन्डनमा’, ‘रातो टीका निधारमा’ आदि फिल्म फ्लप हुँदा पनि पारिश्रमिक १५ लाख पुर्याएकी थिइन् । तर उनले ‘मारुनी’ १३ लाखमा गरेकी थिइन् भने रिलिजको संघारमा रहेको ‘तिम्रो मेरो साथ’का लागि १२ लाखमा मानेको खबर छ । 

बजारमा सक्रिय हिरोइनमध्ये वर्षा राउतले ५ लाख हाराहारीमा काम गरिरहेकी छिन् भने आँचल ८ देखि १० लाख माग्ने गरेको स्रोत बताउँछ । चर्कै पैसा माग्नेमा नम्रता श्रेष्ठको पनि नाम आउँछ तर उनी बाँकी हिरोइन जस्तो धेरै फिल्म गर्दिनन् । उनले ‘प्रसाद २’मा काम गर्न २० लाख पारिश्रमिक मागेको चर्चा थियो । निर्माताले त्यति रकम दिएका पनि थिए तर पछि उनले सो फिल्म छाडिन् । उनले गर्न लागेको नयाँ फिल्म ‘ग्रहण’मा पनि उनले आफैँ लगानी गर्न लागेको खबर छ ।

कलाकारले पुग्दो पारिश्रमिक पाउनु नराम्रो कुरा होइन तर निर्माताले कलाकारमा जति पनि पैसा खर्चिएर बाँकी कुरामा सम्झौता गर्दा फिल्म कमजोर बन्न पुगिरहेका छन् । यसले अनुभवी निर्माता दोहोर्याएर लगानी गर्न नआउने, नयाँ आउने र एउटा फिल्म गरेर गायब हुने चक्रले नेपाली फिल्म जहाँको तहीँ रहेको टिप्पणी खेपिरहेको छ ।


Author

थप समाचार
x