सिनेमा

सय जना फ्यानलाई मनाली घुमाउने विजय देवराकोन्डाको घोषणा

इकागज |
पुस २४, २०७९ आइतबार १३:३० बजे

मुम्बई - ‘अर्जुन रेड्डी’ अभिनेता विजय देवराकोन्डाले सय जना फ्यानलाई मनाली घुमाउने घोषणा गरेका छन् । उनले क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा ‘देवर सान्टा कन्टेस्ट’को आयोजना गर्दै यसबाट छानिएका सय जनालाई ५ दिन मनाली घुमाउने भएका हुन् । उनले आइतबार इन्स्टामा भिडियो पोस्ट गर्दै सय जना फ्यानलाई आफ्नो खर्चमा ५ दिन मनाली घुमाउने बताएका हुन् । 

उनले १८ वर्षमाथिका फ्यानले फर्म भरेर सहभागिता जनाउन सक्ने बताएका छन् । यसरी फर्म भरेर आएका मध्ये सय जना छानेर घुम्न पठाउने उनले भिडियोमा उल्लेख गरेका छन् । विजयको पछिल्लो रिलिज ‘लाइगर’ फ्लप भएको थियो । यो फिल्म अवैध रकम प्रयोग भएको सिलसिलामा पनि अनुसन्धानको घेरामा आएको थियो । तर त्यसबाट उम्केर विजय प्रेमिका रश्मिका मन्दानासँग मालदिभ्स घुम्न गएको कुराले पनि चर्चामा आएका थिए ।


रश्मिका र विजय दुवैले बेग्लाबेग्लै फ्रेममा फोटो सार्वजनिक गरेका थिए तर ब्याकग्राउन्डमा भएको दृश्य एकै थियो । यही कुरालाई लिएर फ्यानले दुवैलेसँग मालदिभ्समा नयाँ वर्ष मनाएको आँकलन गरेका थिए । रश्मिका र विजय दुवैले भने अफेयरको हल्लामा मौनता साँध्दै आएका छन् । 


Author

थप समाचार
x