सिनेमा

फिल्मी संघ संस्थामा चुनावी लहर : कलाकार संघको अध्यक्षमा उम्मेदवारको लर्को

इकागज |
पुस २५, २०७९ सोमबार ११:१ बजे

काठमाडौँ - नेपालमा फिल्मी संघ संस्थालाई चुनाव लागेको छ । फेसबुकतिर हल्लाखल्ला गरिरहने दुई संस्थाले आउँदो फागुन र चैतमा साधारण सभा गरी नयाँ नेतृत्व चयन गर्ने सूचना निकालेका छन् । सूचनाअनुसार प्राविधिकहरूको संस्था नेपाल प्राविधिक संघले फागुन ११ मा साधारण सभा गरी नयाँ नेतृत्व चुन्ने बताएको छ भने कलाकार संघले चैत १० लाई साधारण सभाको मिति तोकेको छ । तर यी दुईमध्ये पनि कलाकार संघमा उठ्ने कलाकारको घोषणाले अचानक धेरैको ध्यान खिचेको छ । 
साधारण सभाको मिति सार्वजनिक हुने बित्तिकै मोहन निरौलाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । उनले संघको आगामी कार्यकालका लागि अध्यक्ष बन्ने चाहाना व्यक्त गरेका हुन् । निरौला वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । यसैगरी संघको नेतृत्व नयाँ पुस्तामा आउनुपर्छ र आफ्नो उम्मेदवारी त्यसैका लागि भएको भन्दै अभिनेता सविन श्रेष्ठले पनि आउँदो सभामा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनलाई पूर्व विकास बोर्ड अध्यक्ष तथा निर्माता संघ अध्यक्ष राजकुमार राईको सहयोग रहने बताइएको छ । 

संघको चुनावमा कलाकार सुशान्त श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हेटौँटा बस्दै आएका श्रेष्ठले थुप्रै नेपाली फिल्ममा अभिनय गरेका छन् । यसैगरी कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने चौथो नाम रेजिना उप्रेतीको रहेको छ । उप्रेती पनि वर्तमान कार्य समितिमा उपाध्यक्ष छिन् । 
संघको उपाध्यक्ष र महासचिवमा भने अहिलेसम्म एक एक जनाको मात्र उम्मेद्वारी परेको छ । उपाध्यक्षमा डीबी बोम्जनले उम्मेद्वारी दिने घोषणा गरेका छन् भने संघको महासचिवमा धर्मेन्द्र आचार्यले उम्मेदवार बन्ने बताएका छन् । 


प्राविधिक संघले भने वर्तमान कार्यसमिति इतरपक्षले दबाब दिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । पूर्व महासचिव अनन्त तिमल्सिना लगायतका सदस्यले प्राविधिक संघ विधान सम्मत नचलेको आरोप लगाएको भोलिपल्ट अध्यक्ष पुष्कर लामाले साधारण सभाको मिति घोषणा गरेका हुन् । 
फागुनमा नै निर्देशक समाजको पनि साधारण सभा हुने चर्चा छ । भित्रभित्रै यता पनि कार्य समितिमा उम्मेदवारी दिन सदस्यहरूको दौडधुप सुरु भएको छ । 
 


Author

थप समाचार
x