सिनेमा

फिल्म चलाउन र्‍यापरको भर पर्दै अनमोल, जी-बबपछि भिटेन, भिटेनपछि बालेन !

इकागज |
पुस २८, २०७९ बिहीबार १२:१ बजे

काठमाडौँ  - अनमोल केसी नेपालमा फिल्म खेलेवापत सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता हुन् । २० लाख हुँदै ५० लाख अडिकिएका अनमोलका फिल्मको व्यापार भने नाम अनुसार हुन छाडेको छ । तर पनि अनमोललाई लिन निर्माताहरू ५० मा दस बीस लाख थप्न पनि तयार छन् । तर यति गरेर पनि निर्मातालाई अनमोलको मात्र भर छैन । फिल्म चलाउन उनीहरूले र्यापरको साथ खोज्न थालेका छन् ।

‘ए मेरो हजुर ४’ मा निर्माण टिमले अन्तिम समयमा फिल्मको पब्लिसिटीका लागि भन्दै विवादास्पद र्यापर जीबबको गीत राखेको थियो । योभन्दा अघि यही फिल्ममा दुर्गेश थापाको गीत थियो । तर अनमोलको यो फिल्मको जीबबले पनि उद्धार गर्न सकेनन् । अहिले अनमोलको ‘छड्के २’ रिलिजको संघारमा छ । फागुन १९ मा यो फिल्म प्रदर्शनमा आउँदैछ । तर निर्माण टिमले अनमोलभन्दा पनि र्यापरमा भरोसा गरेको छ । यसैको फलस्वरुप निर्माण टिमले अर्का विवादास्पद र्यापर भिटेनको गीत राख्ने निर्णय गरेको छ । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको सिनेमाको गीतमा भिटेनले स्वर भरेका हुन् । यो गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । 


भिटेनबाहेक यो फिल्ममा काठमाडौँ महानगरपालिकाका मेयर बालेनको पनि गीत रहने चर्चा छ । ग्याङस्टर जनरामा निर्माण भएको सिनेमामा अनमोलको भिन्न लुक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । 


Author

थप समाचार
x