सिनेमा

दयाहाङको सुटिङ क्यालेन्डर : माघदेखि असारसम्म प्याक

इकागज |
पुस २९, २०७९ शुक्रबार १३:२८ बजे

काठमाडौँ - दयाहाङ राई दोस्रो राजेश हमाल बन्न लागेको आरोप पुरानो भइसक्यो । चुनेर राम्रा फिल्म खेल्लान् भन्ने दर्शकको अपेक्षालाई दयाले बाध्यताको कवचले ढाकेर प्रतिरक्षा गर्न थालेको पनि लामै भइसक्यो । यस हिसाबले दया र निर्माताको ट्युनिङ मिलेको छ । त्यसैले दयाको सुटिङ क्यालेन्डर यो साल मात्र होइन सायद अर्को सालसम्मका लागि प्याक छ । 

दयाले भर्खरै पुराना निर्देशक दीपक श्रेष्ठको निर्देशनमा बन्ने फिल्म साइन गरेको खबर आयो । यो फिल्मको सुटिङ माघ २० बाट सुरु हुने चर्चा छ । फागुनमा दयाले मिलन चाम्सलाई समय दिएका छन् । मिलन चाम्सले फुटबलर एञ्जिला सुब्बाको जीवनीमा बनाउन लागेको फिल्म ‘एञ्जिला’ फागुनको दोस्रो हप्ता सुरु हुनेछ । 


चैतको समय उनले दीपेन्द्र लामाको निर्देशन रहने ‘नाँगो गाउँ’लाई दिएका छन् । यो फिल्ममा उनले मिरुना मगरसँग जोडी बाँध्ने खबर सार्वजनिक भइसकेको छ । 
वैशाखको समय उनले घरेलु निर्देशक रामबाबु गुरुङलाई दिएको चर्चा छ । श्याम शाहको ‘लाटीको छोरी’ कथामाथि ‘सुन्दर बजार’ बनाउन लागेका गुरुङले अहिलेलाई यो प्रोजेक्ट थाँती राखेर अर्को फिल्म बनाउने तयारी गरिरहेका छन् । यसका लागि दयाले वैशाखको समय छुट्याएका छन् । ‘दुई नम्बरी’ निर्माताको फिल्म ‘हात्तीछाप’ले जेठमा दयाको समय पाउनेछ । यो फिल्मको सुटिङ सक्दासम्म असार सकिन्छ ।

यो बीचमा दयालाई थप फिल्मको अफर जाने त निश्चित नै छ, योबाहेक उनले आफूले खेलेका ‘जारी’ र ‘बिहेपास’को पनि प्रमोसन गर्नुपर्ने हुन्छ । अहिलेलाई दुवै फिल्मले वैशाख १ लाई प्रदर्शन मिति घोषणा गरेका छन् तर दुई मध्ये एक सर्ने निश्चित छ । दयाले यही बीचमा पारिश्रमिक २० बाट ३० पुर्याएका छन् । त्यसले निर्मातालाई भने खासै असर पुर्याएको छैन । 


Author

थप समाचार
x