सिनेमा

केरलामा युट्युबर्सलाई हलभित्र फिल्म समीक्षा गर्न प्रतिबन्ध

इकागज |
माघ २७, २०७९ शुक्रबार ११:४३ बजे

मुम्बई- फिल्म विरुद्ध जानाजान गरिने कुप्रचारलाई तह लगाउन केरला फिल्म चेम्बर्सले युट्युबरलाई हल परिसर भित्र दर्शक प्रतिक्रिया लिन बन्देज लगाउने निर्णय गरेको छ । चेम्बर्सले बुधबार हलबाट निस्कँदै गरेका दर्शकसँग फिल्मको प्रतिलिया लिन नपाउने निर्णय गरेको जनाएको छ । 

केरलाको हल सञ्चालकले निर्माताहरूबाट व्यापक गुनासो आएका कारण यस्तो निर्णय लिन बाध्य हुनुपरेको बताएका छन् । युट्युबरको पक्षपाती समीक्षाले फिल्म र यसको संकलनमा असर गरेको भन्दै निर्माताहरूबाट रोक्न माग आएअनुरुप आफूहरूले यस्तो निर्णय लिएको प्रदर्शकहरूको भनाइ छ । 


यसका मतलब आफूहरूले समीक्षामै प्रतिबन्ध लगाउने मनसाय भने नरहेको बताएका छन् । युट्यबुरले फिल्म हेर्न पाउने तर दर्शक प्रतिक्रिया लिन मन भए हलबाहिर गएर लिन सक्ने पनि स्पष्ट पारेको छ । 

यसैगरी प्रदर्शकहरूको संस्थाले हलमा रिलिज भएको ४२ दिनपछि मात्र ओटीटीमा रिलिज गर्न पाउने नियम पनि लागू गर्ने जनाएको छ । तेलगु र तमिलमा पनि हलमा रिलिज भएको ८ हप्ता वा ४ हप्तापछि मात्र फिल्म ओटीटीमा रिलिज गर्न पाइने प्रावधान छ । संघले यो नियम अप्रिलदेखि लागू हुने जनाएको छ । 

केरलाकै हल सञ्चालकको अर्को संघले भने युट्युबरलाई रोक्ने निर्णयको विरोध गरेको छ । यो संघका एक सदस्यले फिल्म राम्रो भए नकारात्मक समीक्षाले पनि केही फरक नपर्ने तर फिल्म नराम्रो भए जति राम्रो भए पनि केही नहुने बताउँदै युट्युबरलाई रोक्ने निर्णय व्यवहारिक नभएको बताएका छन् । 


Author

थप समाचार
x